
धनकुटा (मुलघाट) । उमेरले साढे तीन कोरी (७० वर्ष) नाघेकी धनकुटा साँगुरीगढी १ तमोर मुलघाटकी चाम्लिङ राई चार दशकदेखि पहाडबाट तराई झर्ने र तराईबाट पहाड उक्लीने सवारी यात्रुलाई उखु बिक्री गरेर गुजारा चलाउँदै आएकी छिन् ।
उखु बिक्रीकै आम्दानीले चाम्लिङले पाँच जना परिवारको गुजारा मात्र होइन, तीन सन्तानलाई शिक्षित पनि बनाएकी छिन् । उनका दुई सन्तान यसबेला वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका छन् । तर पनि राई आफ्नो गुजारा र चार दशकदेखि गर्दै आएको उखु बिक्री गर्ने व्यवसायका लागि बिहान झिसमिसदेखि साँझसम्म मुलघाटको सडकमा देखिन्छिन् ।
भन्छिन्, ‘उखु बिक्रीकै पैसाले आफ्नो गुजारा चलिरहेको छ । छोराले विदेशबाट पठाएको रकम आफ्नो गुजारा चलाउन खर्चिनु परेको छैन ।’
मुलघाटमा वर्षभरि उखुको व्यापार हुन्छ । असारदेखि असोजसम्म उखुको अफ सिजन हो । त्यसवेला दैनिक सरदर १५ सयसम्मको कारोबार हुन्छ । ‘त्यति कारोबार हुँदा आधा नाफा हुन्छ । कात्तिकदेखि जेठसम्म उखुको मुख्य सिजन हो । त्यसवेला दैनिक सरदर ४ हजारसम्मको कारोबार हुन्छ । दिनमा ४ हजारको उखु बिक्री हुँदा दुई हजार नाफा हुन्,’ राईको भनाइ छ, ‘आफैले दिनमा दुई हजार कमाउँदा छोराछोरीको कमाई किन खानु पर्यो ।’
मुलघाटमा उखु बिक्री गर्ने चाम्लिङ एक्लो पात्र भने होइनन् । उनीसँगै झन्डै ४५ जनाको गुजारा पनि उखु बिक्रीकै नाफाले चल्दै आएको छ । कक्षा ५ पढ्दादेखि उखु बिक्री गरेर आफ्नो खर्च निकाल्दै आएकी त्यहीकी सुनिता लिम्बुले भनिन्, ‘यो पेशामा ४५ जना भन्दा बढी संलग्न छन् । उनीहरू प्रायः सबैको अफ सिजनमा दैनिक ७–८ सय र मुख्य सिजनमा दैनिक १५ सयदेखि दुई हजार रुपैयाँसम्म उखु बिक्रीबाट कमाइ हुन्छ र त्यसैले परिवारको गुजारा धान्दै आएका छन् ।’

धनकुटाको मुलघाटमा तमोर र लेउती खोलाको संगम स्थल छ । त्यो संगम स्थलदेखि पारी लेउती दोभान छ । त्यही लेउती दोभानमा ५ सय रोपनीभन्दा बढी क्षेत्रफलमा ‘गेवारे’ जातको उखु खेती छ । त्यही उखु खेतीले साँगुरीगढी १ मुलघाट र लेउती दोभानका सयभन्दा बढी परिवारको गुजारा चल्दै आएको छ ।
मुलघाट मुख्य गरी गवारे उखुले प्रसिद्ध छ । यहाँ वार्षिक रूपमा झन्डै तीन करोड मूल्य बराबरको उखुको कारोबार हुन्छ । सुनिताले भनिन्, ‘उखुसँगै आप, सजिउन, लिची र टमाटरको व्यापार पनि मुलघाटमा प्रसस्त हुँदा यो सानो बजारमा वार्षिक ५ करोडभन्दा बढीको कारोबार हुन्छ ।’
यात्रु बस, ढुवानीका साधन र साना सवारीका साधनमा यात्रा गर्ने जो–कोही यात्रु उखु व्यापारीका ग्राहक हुन् । मधेस झर्ने र पहाड उक्लने जुनसुकै सवारीका साधन मुलघाट पुग्दा व्यापारीले यात्रुलाई उखु बिक्री गर्छन् । धरान–धनकुटा कोशी सडकखण्डमा यात्रा गर्ने जो–कोही मुलघाटको उखुलाई कोसेलीको रूपमा बोकेर गन्तव्यतिर लाग्दा मुलघाटमा उखुको व्यवसाय गर्नलाई ग्राहकको समस्या छैन ।
धरानबाट धनकुटा जाने क्रममा भेडेटारमा यात्रुलाई निकै चिसो महसुस हुन्छ । तराईको उखुमा गर्मीबाट भेडेटार पुग्दाको चिसो र तमोर खोलाको रसिलो उखुले यो यात्रालाई निकै रोमाञ्चक बनाउँछ । तमोर खोलाको नदी किनार पनि तराईकै मौसमसँग मिल्दोजुल्दो हुन्छ । भेडेटारको चिसोले यात्रुलाई न्यानो कपडाको आवश्यकता महसुस गराउँछ भने मुलघाटको गर्मीलाई यहाँको रसिलो उखुले ठन्डा बनाउँछ । एउटै यात्रामा यात्रुले फरक–फरक मौसमी परिवर्तनको अनुभव गर्न पाउँछन्, जुन यति छोटो दूरीको यात्रामा अन्यत्र सम्भव छैन ।
मुलघाटको उखुको विशेषता भनेको अन्य क्षेत्रको उखुभन्दा बढी रसिलो, स्वाद र गुलियोपन हो । गवारे जातको रातो रंगको उखु तराईका अन्य क्षेत्रमा पनि पाइन्छ तर मुलघाटमा भने पहाडी वातावरण र रसिलो माटोमा फलेको हुनाले त्यसको स्वाद अझ रसिलो र गुलियो हुन्छ ।
मुलघाटको उखु भन्नेबित्तिकै नेपालमै रसिलो उखुको रूपमा लिइन्छ । निजी सवारी साधनमा होस् वा यात्रुवाहक बसमा यात्रा गर्ने जो–कोहीले तमोर नदी छेउमा बिक्री गर्न राखिएको उखु खरिद गर्छन् र कोसेलीको रूपमा लाने गर्छन् ।
तमोर नदी छेउमा रहेको प्रहरी चौकी नजिक उखु बिक्री गर्ने व्यापारीहरू ग्राहकको पर्खाइमा बसेका हुन्छन् । कुनै पनि सवारी साधन त्यहाँ रोक्यो कि उखु बिक्री गर्न उनीहरूबीच हानाथाप हुने गर्छ । सवारी साधन रोक्नेबित्तिकै उनीहरू झ्याल–झ्यालमा उखु बोकेर आउँछन् र उखु खरिद गर्न यात्रुलाई आग्रह गर्छन् ।

पहिले मकै, कोदो र तरकारी खेतीमा निर्भर यहाँका किसानले यसवेला उखु खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । हाल मुलघाटमा करिब ५ सय रोपनीमा उखु खेती भइरहेको छ । यसले स्थानीय स्तरमा आर्थिक गतिविधि र रोजगारी दुवैमा उल्लेखनीय सुधार ल्याएको छ । अफ सिजनमा पनि माग स्थिर रहँदा किसानहरूको आम्दानी निरन्तर रहने गरेको छ ।
मुलघाटमा मकै र तरकारीभन्दा उखु खेतीमा अधिक नाफा र कम जोखिम देखिएको छ । मुलघाटका किसानहरूका अनुसार, एक रोपनी खेतमा उखु लगाउँदा वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । यो आम्दानी अन्य खेतीबाट सम्भव छैन।
धनकुटाको साँगुरीगढी–१ मुलघाटमा उखु खेतीले किसानको जीवनशैलीमा परिवर्तन ल्याएको छ । कोशी राजमार्गमा यात्रा गर्ने यात्रुका लागि मिठास बनेको यो उखुले किसानका लागि आर्थिक आत्मनिर्भरताको आधार बनेको छ ।
स्थानीय श्याम थापाका अनुसार, उखु सजिलो बाली हो । पानी र मल कमैमा पनि राम्रो फल्छ । बजार बाटोमै भएकाले बेच्न सजिलो छ, बिचौलिया छैन । मुलघाटको माटो र मौसम उखुका लागि उपयुक्त भएकाले किसानले वर्षमा स्थिर आम्दानी पाउने गरेका छन् । थापाले भने, ‘उखु खेतीसँगै गाउँमा आर्थिक चहलपहल बढेको छ ।’
यहाँका किसानहरूले समेत जीवनयापन गर्ने मुख्य आधार नै उखु खेती भएको बताएका छन् । स्थानीय विजु लिम्बुले भनिन्, सिजनमा उखुले धेरै फाइदा हुने गरेको छ । उखु बेच्दा अन्य कामभन्दा दोब्बर फाइदा हुन्छ । उखु रोप्ने र बिक्री गर्ने यहाँका सयभन्दा बढी घरपरिवारको जीविका पाएको छ । उखु उनीहरूले त्यहाँ आइपुग्ने सवारी यात्रुलाई लक्षित गरी टुक्रा बनाएर प्रति मुठा ५० देखि सय रुपैयाँसम्ममा बेच्ने गरेका छन् ।









प्रतिक्रिया