
काठमाडौं । इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव सोमबार काठमाडौं ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका पार्थिव शरीर आइपुगेको हो ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थलमा उपस्थित भएका थिए ।
शवलाई आजै कञ्चनपुरको भिमदत्तनगरस्थित विपिनको घर लगिने र त्यहीं अन्तिम संस्कार गरिने तयारी गरिएको छ ।
अध्ययनका लागि इजरायल पुगेका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनेका थिए । लामो समयसम्म उनी बेपत्ता रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल–हमास युद्धविरामपछि बन्दी साटासाटका क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि गरिएको थियो । इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार, फरेन्सिक परीक्षणले उनी अपहरण भएताकै मृत्यु भएको देखाएको छ ।
नेपाल ल्याउनुअघि आइतबार इजरायलको तेल अवीवस्थित खटिभा ८ स्मारक र बेन गुरियन विमानस्थलमा विपिनको शवप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । उनको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।








प्रतिक्रिया