
एजेन्सी । भारतले रुससँग कच्चा तेल किन्न बन्द गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएको भनी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार पनि बयान दिएका छन् । तर, भारतले त्यसो नगरेमा भारी भन्सार शुल्क तिर्नुपर्ने ट्रम्पले चेतावनी दिए ।
ट्रम्पले एयर फोर्स वन विमानमा पत्रकारहरूलाई बताए, ‘मैले भारतका प्रधानमन्त्री मोदीसँग कुरा गरें, उनले अब रुसी तेलको कुरा नगर्ने बताएका छन् ।’
भारतले मोदी र ट्रम्पबीच त्यस्तो कुनै वार्ता भएको थाहा छैन भन्यो नि भनी जब पत्रकारहरूले सोध्दा ट्रम्पले उनीहरू त्यस्तो भन्न चाहन्छन् भने, उनीहरूले ठूलो भन्सार शुल्क तिर्नुपर्छ र उनीहरू त्यसो गर्न चाहँदैनन् भनी जवाफ दिए ।
रुसबाट आउने कच्चा तेल भारत र अमेरिकाबीच लामो सयमदेखि चलिरहेको व्यापार वार्ताको प्रमुख विवादित विषय हो ।
ट्रम्पले भारतबाट अमेरिकामा आयात हुने सामानमा लगाएको ५० प्रतिशत भन्सार शुल्कमध्ये आधा त्यही तेल किन्ने कारणले गर्दा लगाएका हुन् । अमेरिकी सरकारका अनुसार, रुसले तेलबाट भएको आम्दानीबाट युक्रेनविरुद्धको युद्ध लम्ब्याइरहेको हो ।
सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि पश्चिमी मुलुकहरूले रुससँग तेल कारोबार रोकेका थिए । त्यसपछि भारतले छुटका साथ रुसी तेल किनिरहेको छ ।
भारत सरकारका एक अधिकारीले शनिबार भनेका थिए, ‘भारत र अमेरिकाबीचको व्यापार वार्ता ‘सौहार्द्रपूर्ण’ वातावरणमा चलिरहेको छ ।’ तर, वार्ता संवेदनशील भएकाले उनले आफ्नो नाम खुलाउन चाहेनन् ।
गत साता वार्ताका लागि अमेरिकामा रहेको भारतीय प्रतिनिधिमण्डल फिर्ता भइसकेको उक्त अधिकारीले बताए । तर, उनले यसको थप विवरण सार्वजनिक गरेनन् ।
सोमबार भारतको वाणिज्य मन्त्रालयमा पठाइएको इमेलको तत्काल जवाफ आएको थिएन किनभने त्यो दिन सार्वजनिक बिदा थियो ।
भारतले रुसबाट तेल किन्ने काम बन्द गर्ने भनी मोदीले आफूलाई त्यही दिन आश्वासन दिएको बुधबार ट्रम्पले बताएका थिए ।
तर भारतको परराष्ट्र मन्त्रालयले त्यो दिन दुवै नेताबीच कुनै टेलिफोन वार्ता भएको जानकारी नरहेको जनाएको छ । मन्त्रालयले भारतीय उपभोक्ताको हित सुरक्षित गर्नु भारतको मुख्य चिन्ता भएको बताएको छ ।
भारतले रुसी तेलको खरिद आधाले घटाएको ह्वाइट हाउसका एक अधिकारीले बिहीबार बताएका थिए । तर, भारतीय स्रोतहरूले अहिलेसम्म त्यस्तो कटौती नदेखिएको बताएका छन् ।
ती स्रोतहरूका अनुसार, भारतका तेल प्रशोधन कम्पनीहरूले नोभेम्बर महिनाका लागि तेल किन्ने आदेशहरू पहिले नै दिएका छन् । तिनका केही खेपहरू डिसेम्बर महिनामा आइपुग्नेछन् । त्यसैले डिसेम्बर वा जनवरीको आयात विवरण आउँदा मात्र तेल खरिदमा कमी देखिन सम्भव हुनेछ ।
कमोडिटी डेटा कम्पनी केप्लरको अनुमानअनुसार, भारतले रुसबाट गरिरहेको तेल आयात यो महिनामा झण्डै २० प्रतिशतले बढेर दैनिक १९ लाख ब्यारेल पुग्नेछ ।
रुसले युक्रेनबाट भएको ड्रोन आक्रमणपछि आफ्ना रिफाइनरीहरू मर्मत गरेर निर्यात फेरि बढाएकाले तेल आयातमा वृद्धि भएको हो ।








प्रतिक्रिया