
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा भएको गोप्य बैठकमा युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई युद्ध अन्त्य गर्नका लागि भ्लादिमिर पुटिनका शर्तहरू स्वीकार गर्न दबाब दिएको खुलासा भएको छ ।
युक्रेनले त्यसलाई अस्वीकार गरेमा भने रुसले युक्रेनलाई नष्ट गर्ने भनी ट्रम्पले चेतावनी दिएका थिए ।
शुक्रबार ट्रम्प र जेलेन्स्कीबीचको बैठकमा चर्काचर्की भएको फाइनान्सियल टाइम्सले समाचार प्रकाशन गरेको छ । ट्रम्पले जेलेन्स्कीलाई गाली गरेको पत्रिका लेख्छ ।
बैठकमा अमेरिकाका राष्ट्रपति ट्रम्पले युक्रेनी सेनाको उपस्थिति रहेको नक्सालाई बेवास्ता गर्दै जेलेन्स्कीलाई पूरा डोनबास क्षेत्र पुटिनलाई सुम्पिन आग्रह गरेका थिए जेलेन्स्कीले ट्रम्पलाई भेट्नुभन्दा एक दिनअघि पुटिनले ट्रम्पसँग फोनमा गरेको कुरालाई ट्रम्पले बारम्बार दोहोर्याएका थिए ।
यो बैठक इजरायल र हमासबीच युद्धविराम भएपछि ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्य गर्न गरेको नयाँ पहलको क्रममा भएको थियो । जेलेन्स्की र उनको टोली लामो दूरीका टमाहक क्रुज क्षेप्यास्त्र हात पार्नका लागि ट्रम्पलाई फकाउन ह्वाइट हाउस पुगेका थिए । तर, अन्ततः ट्रम्पले त्यो क्षेप्यास्त्र दिन अस्वीकार गरे ।
शुक्रबारको बैठकमा ट्रम्पले पुटिनका धेरै तर्कहरू जस्ताको तस्तै दोहोर्याएको युरोपेली अधिकारीहरूले बताए । ती कुरा ट्रम्पका अघिल्ला बयानहरूसँग पनि मेल खाँदैनथे ।
एक युरोपेली अधिकारीका अनुसार, ट्रम्पले जेलेन्स्कीलाई पुटिनले यो युद्ध नभई विशेष अपरेशन भएको बताएका थिए । ट्रम्पले तिमी सम्झौता गर, नत्र रुसले तिमीलाई नष्ट गर्नेछ भनी जेलेन्स्कीलाई बताए ।
तिमी युद्ध हार्दैछौ भनी ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिए । पुटिन चाहेमा तिमीलाई पूर्ण रूपमा ध्वस्त पार्नेछ भनी ट्रम्पले थर्काए ।
बैठकका क्रममा ट्रम्पले युक्रेनको युद्ध क्षेत्रको नक्सा एकातिर फ्याँकेका थिए । ट्रम्पले भने, ‘म यो नक्सा देख्दा नै बिरक्तिन्छु । यो रातो रेखा कहाँको हो ? म त कहिल्यै त्यहाँ गएको पनि छैन ।’
रूसको अर्थतन्त्र राम्रो चलिरहेको ट्रम्पले उक्त बैठकमा भनेका थिए । यो उनको अघिल्लो सार्वजनिक बयानभन्दा विपरीत थियो । विगतमा उनले पुटिनलाई रुसको अर्थतन्त्र ढल्न लागेकाले वार्ता गर्न चेतावनी दिएका थिए ।
पुटिनसँग बिहीबार फोनमा कुरा गर्दा ट्रम्प धेरै प्रभावित देखिएका थिए । त्यस वार्तामा पुटिनले क्षेत्र साटासाट गर्ने योजना प्रस्ताव गरेका थिए ।
द वाशिङटन पोस्टका अनुसार, युक्रेनले पूर्वका डोनेत्स्क र लुहान्स्क क्षेत्रहरू रुसलाई सुम्पिने र त्यसको सट्टामा दक्षिणका जापोरिजा र खर्सनका साना भागहरू पाउने प्रस्ताव गरिएको थियो ।
अमेरिकाका अधिकारीहरूले यही योजना शुक्रबारको बैठकमा जेलेन्स्कीलाई पनि प्रस्तुत गरे । तर युक्रेनी पक्षले यसलाई अस्वीकार गरिदियो । डोनेत्स्क र लुहान्स्कका बाँकी भागहरू रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण रहेको उनीहरूले बताए । ती क्षेत्रहरू गुम्दा युक्रेनको बाँकी भाग रुसी आक्रमणका लागि खुला हुने उनीहरूले जिकिर गरे । पश्चिमी डोनेत्स्क र लुहान्स्क रुसलाई सुम्पिनु आत्महत्या गरेजस्तै भएको एक अधिकारीले ट्रम्पलाई बताए ।
रोयटर्स समाचार संस्थाका अनुसार, अमेरिकाका विशेषदूत स्टिभ विट्कफले जोड दिएर युक्रेनलाई उक्त प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए । डोनेत्स्क र लुहान्स्कमा ठूलो रुसीभाषी जनसंख्या भएकाले त्यसमाथिको नियन्त्रण त्याग्न विट्कफले युक्रेनीहरूलाई सुझाव दिएका थिए । यो कुरा उनले सार्वजनिक रूपमा पनि पहिले बताएका थिए ।
जेलेन्स्कीले अमेरिकाको भ्रमणपछि साझेदारहरूलाई चेतावनी दिँदै रुसलाई फकाउने नीति अब बन्द गर्नुपर्ने बताएका थिए ।
उनले लामो दूरीका टमाहक मिसाइल पाउन असफल भएपछि यो भनाइ सार्वजनिक गरेका थिए ।
जेलेन्स्कीले अमेरिकाको असन्तोषलाई प्रयोग गरी पुटिनमाथि दबाब बढाउने योजना बनाएका थिए । विशेष गरी अलास्कामा भएको असफल सम्मेलनपछि त्यस्तो दबाब बढाउन सकिने उनको सोच थियो । तर, ट्रम्पले गाजामा भएको युद्धविरामपछि नयाँ कूटनीतिक पहलमा ध्यान दिइरहेकाले जेलेन्स्कीको भ्रमण निष्फल रह्यो ।
उनी घर फर्किएपछि सामाजिक सञ्जालमा लेखे, ‘युक्रेनले कहिल्यै आतंकवादीहरूलाई उनीहरूको अपराधको पुरस्कार दिनेछैन । हामी आफ्ना साझेदारहरूबाट पनि यही दृढता अपेक्षा गर्छौं ।’
जर्मनीको किल इन्स्टिट्यूटको नयाँ तथ्यांकअनुसार, सन् २०२५ को जुलाई–अगस्टमा युक्रेनलाई दिइने विदेशी सैन्य सहयोग अघिल्लो छ महिनाको तुलनामा ४३ प्रतिशतले घटेको छ ।
आंशिक रूपमा नेटोको प्रायोरिटाइज्ड युक्रेन रिक्वायरमेन्ट्स लिस्टका कारण भएको सहयोगको कटौती भएको बताइन्छ । यसले अमेरिकी हतियारहरू किन्नका लागि युरोपेली देशहरूको सहयोगलाई समेट्छ तर अमेरिकाको प्रत्यक्ष आर्थिक सहयोगलाई समावेश गर्दैन ।








प्रतिक्रिया