साउदी अरबले समाप्त गर्‍यो कफाला प्रणाली, आप्रवासी कामदारलाई सजिलो

917
Shares

एजेन्सी । साउदी अरबले आधा शताब्दीदेखि कायम रहेको कफाला प्रणालीलाई औपचारिक रूपमा अन्त्य गरेको छ ।

यो श्रम प्रायोजन प्रणालीले विदेशी कामदारको बसोबास र रोजगारीको सबै जिम्मेवारी रोजगारादातालाई दिन्छ ।

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार, सन् २०२५ को जुन महिनामा घोषणा गरिएको यस सुधारले दक्षिण र दक्षिणपूर्वी एसियाबाट आएका करिब १ करोड ३० लाख विदेशी कामदारहरूलाई असर गर्नेछ । कफाला प्रणालीका कारण वर्षौंदेखि उनीहरू जागिर बदल्न, स्वतन्त्रतापूर्वक काम गर्न र श्रमिक अधिकार पाउन पाइरहेका थिएनन् ।

कफाला अरबी भाषाको शब्द हो र यसले प्रायोजन भन्ने अर्थ दिन्छ । यो प्रणाली सन् १९५० को दशकमा साउदी अरब लगायतका खाडी मुलुकहरूमा सुरु गरिएको थियो । यसअन्तर्गत कामदारको कानूनी हैसियत उसको रोजदारदाता (कफिल) सँग जोडिन्थ्यो । यसले कामदारलाई जागिर बदल्ने, देश छोड्ने वा कानूनी सहायता लिने जस्ता अधिकारहरूमा नियन्त्रण गर्थ्यो ।

मानवअधिकार संस्थाहरूले यस प्रणालीबाट श्रम शोषण, दुर्व्यवहार र जबर्जस्ती श्रमलाई प्रोत्साहन गर्ने भनेर आलोचना गर्दै आएका थिए ।

सुरुवातमा यस प्रणालीले भिसा र बसोबाससम्बन्धी प्रशासनिक जिम्मेवारी रोजगारदातामा सुम्पिने उद्देश्य राखे पनि समयसँगै यसले रोजगारदाता र कामदारबीच ठूलो शक्ति असन्तुलन सिर्जना गर्‍यो । यसले निर्माण, आतिथ्य, कृषि र घरेलु कामजस्ता क्षेत्रमा संलग्न लाखौं कामदारहरूको स्वतन्त्रता र अधिकारलाई सीमित बनायो ।

साउदी अरबले अब कफालाको सट्टा सम्झौतामा आधारित रोजगारी प्रणाली लागू गरेको छ । साउदी प्रेस एजेन्सीका अनुसार, नयाँ प्रणाली अन्तर्गत कामदारहरूले अब रोजगारदाताको अनुमतिविना नै काम बदल्न सक्ने, देश छोड्न एक्जिट भिसा लिन सक्ने र कानूनी सुरक्षा पाउन सक्ने भएका छन् । यो अधिकार विगतमा सम्भव थिएन ।

यो सुधार भिजन २०३० योजनाको हिस्सा हो । देशको अर्थतन्त्रलाई आधुनिक बनाउने र विदेशी कामदारहरूको जीवनस्तर सुधार्ने त्यस भिजनको उद्देश्य हो । साउदी सरकारले यसलाई ठूलो उपलब्धि भनेको छ तर मानवअधिकार समूहहरूले भनिरहेका यो प्रणालीको सफल कार्यान्वयन र निगरानी अत्यावश्यक छ, नत्र सुधार कागजमै सीमित हुन सक्ने बताएका छन् ।

साउदी अरबयामा हाल करिब १ करोड ३४ लाख विदेशी कामदार छन्, जुन देशको कुल जनसंख्याको ४२ प्रतिशत हो । तीमध्ये सबैभन्दा ठूलो समूह बंगलादेश र भारतका नागरिकहरू हुन् । सन् २०२३ मा मात्र ४ लाख ९८ हजार बंगलादेशी र करिब ४ लाख २७ हजार अन्य छिमेकी देशका कामदारहरू त्यहाँ कार्यरत थिए ।

घरेलु कामदारहरू नै करिब ४० लाख छन् र ती सबै विदेशी नागरिक हुन् । ती कामदारहरू निर्माण, घरेलु सेवा, आतिथ्य र कृषि क्षेत्रहरूमा संलग्न छन् ।

कफाला प्रणालीको अन्त्यलाई खाडी क्षेत्रकै श्रमिक अधिकारमा ऐतिहासिक परिवर्तनको रूपमा हेरिएको छ । यस सुधारले कामदारहरूको स्वतन्त्रता, सम्मान र वार्ता गर्ने क्षमता बढाउने अपेक्षा गरिएको छ ।

अब कामदारहरूले आफ्ना रोजगारीका शर्तहरू स्वतन्त्र रूपमा तय गर्न सक्ने भएकाले उनीहरूको आर्थिक सहभागिता र प्रेरणा दुवैमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

पर्यवेक्षकहरूका अनुसार, यस सुधारले साउदी अरबमा मात्रै नभई सम्पूर्ण खाडी क्षेत्रका लाखौं कामदारहरूको जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ ।