हमासले हतियार नत्यागुन्जेल गाजामा युद्ध भइरहन्छ : नेतान्याहु

357
Shares

एजेन्सी । हमासले आफ्ना सबै हतियार बुझाएर र प्यालेस्टाइनी क्षेत्र पूर्ण रूपमा निःशस्त्रीकरण भएपछि मात्र गाजाको युद्ध समाप्त हुने भनी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार चेतावनी दिएका छन् ।

हमासको सशस्त्र शाखा इज्जुद्दीन अल–कासेम ब्रिगेडले अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौता अन्तर्गत थप दुई जना बन्दीका शवहरू फिर्ता गरेपछि नेतान्याहुको घोषणा आएको हो ।

नेतान्याहुको कार्यालयले शनिबार राति जानकारी दिएको अनुसार, रेडक्रसको टोलीले हमासबाट ती दुईजना बन्दीका शवहरू प्राप्त गरी तिनीहरूलाई गाजामा रहेका इजरायली सेनालाई हस्तान्तरण गरेको छ । यी शवहरू त्यसपछि इजरायल लगिएको छ र पहिचान गरिँदैछ ।

गाजामा अझै रहेका मृत बन्दीहरूको मुद्दा युद्धविरामको पहिलो चरण कार्यान्वयनमा अड्चन बनेको छ । इजरायलले प्रमुख रफाह नाका पुनः खोल्ने कुरालाई ती शवहरूको फिर्तीसँग जोडेको छ ।

युद्ध अन्त्य गर्नका लागि युद्धविरामको दोस्रो चरण पूरा गर्नु आवश्यक रहेको नेतान्याहुले चेतावनी दिए । यसमा हमासलाई निःशस्त्रीकरण गर्ने र गाजा क्षेत्रमा सैन्य संरचना विघटन गर्ने कुरा पनि पर्छ ।

‘यो सफलतापूर्वक पूरा भएपछि मात्र युद्ध समाप्त हुनेछ,’ उनले दक्षिणपन्थी इजरायली च्यानल १४ मा दिएको अन्तर्वार्तामा भने । ‘सजिलो तरिकाले नभए कठिन तरिकाले युद्ध अन्त्य हुने आशा छ ।’

हमासले भने हालसम्म यो अवधारणालाई अस्वीकार गरेको छ । युद्धविराम सुरु भएदेखि नै उसले गाजामाथि आफ्नो नियन्त्रण पुनः स्थापित गर्ने प्रयास गरिरहेको छ ।

हमासले गाजामा सर्वसाधारणमाथि आक्रमणको योजना बनाइरहेको विश्वसनीय जानकारी पाएको अमेरिकाको विदेश मन्त्रालयले शनिबार जनाएको छ । त्यस्तो कदम युद्धविरामको उल्लंघन हुने मन्त्रालयले चेतावनी दियो ।

हमासले यो आक्रमण अघि बढायो भने गाजाका जनताको सुरक्षा गर्न र युद्धविरामको स्थायित्व जोगाउन आवश्यक कदम चालिने विज्ञप्तिमा उल्लेख गरिएको छ । तर, आक्रमणको स्वरूप वा लक्ष्यबारे विवरण दिइएको छैन ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार, हालसम्म हमासले २० जना जीवित बन्दीका साथै नौजना इजरायली तथा एकजना नेपालीको शव फिर्ता गरिसकेको छ ।

त्यस्तै इजरायलले युद्धविराम लागू भएदेखि (अक्टोबर १० देखि) करिब २ हजारजना प्यालेस्टाइनी बन्दी र १३५ जना प्यालेस्टाइनीहरूको शव फिर्ता गरेको छ ।

हमासले भने बाँकी शवहरू फिर्ता गर्न समय र प्राविधिक सहयोग आवश्यक रहेको जनाएको छ किनभने ती शवहरू गाजाको भग्नावशेषमुनि फसेका छन् ।

रफाह नाका अर्को सूचना नआएसम्म बन्द रहने नेतान्याहुको कार्यालयले जनाएको छ ।

हमासले बन्दी र मृतकका शव फिर्ता गर्ने प्रतिबद्धता र सम्झौतामा सहमत संरचनालाई कत्तिको पालना गर्छ भन्ने आधारमा रफाहको पुनः सञ्चालनमाथि विचार गरिने वक्तव्यमा उल्लेख गरिएको छ ।

रफाह नाका बन्द राखिरहँदा शवहरूको खोज र हस्तान्तरणमा ठूलो ढिलाइ हुने हमासले शनिबार राति चेतावनी दिएको छ ।

नाका पुनः नखुल्दा संयुक्त राष्ट्रसंघका मानवीय राहत प्रमुख टम फेचरको काम अझ कठिन भएको छ । उनी शनिबार गाजाको उत्तरी भागमा थिए ।

‘पूरै सहर नै मरुभूमि बनेको छ । यो साँच्चै हृदयविदारक दृश्य हो,’ उनले एएफपीसँग भने ।

फेचरले भने, ‘संयुक्त राष्ट्रसंघ र राहत संस्थाहरूका लागि यो एक विशाल चुनौती हो ।’

आफूहरूले घर फर्किएका स्थानीय बासिन्दालाई भेटेको र उनीहरूले भग्नावशेषका बीचमा शौचालय खन्ने प्रयास गरिरहेको फेचरले बताए ।

‘हामीसँग अहिले ६० दिनको ठूलो योजना छ — दैनिक १० लाखजनालाई खाद्यान्न वितरण, स्वास्थ्य सेवा पुनः सञ्चालन, जाडोका लागि पालहरू ल्याउने र लाखौं बालबालिकालाई विद्यालय फर्काउने काम गर्छौं,’ उनले बताए ।

युद्धविरामका बावजुद केही हिंसात्मक घटना जारी छन् ।

हमासको नियन्त्रणमा रहेको गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार जनाएअनुसार, इजरायली सेनाले एउटा बसमा दुईवटा ट्यांक शेल प्रहार गर्दा शाबान परिवारका नौजना (दुई पुरुष, तीन महिला र चार बालबालिका) मारिएका छन् ।

एजेन्सीका अनुसार, थप दुईजना विस्फोटमा चिन्नै नसकिने गरी मरेका छन् र तिनका अवशेष अझै फेला परेका छैनन् ।

गाजा सिटीको अल–अहली अस्पतालमा पीडितका शवहरू सेतो कपडामा बेरेर राखिएका थिए । त्यहाँ उनका आफन्तहरू रोइरहेका थिए ।

‘मेरी छोरी, उसका बच्चा र श्रीमान्; मेरो छोरा, उसका बच्चा र उसकी श्रीमती मरे । उनीहरूको के गल्ती थियो ?’ हजुरआमा उम्म मोहम्मद शाबानले रुँदै भनिन् ।

पहेंलो रेखा नजिक आएको सवारीसाधनमाथि गोली चलाएको इजरायली सेनाले दाबी गरेको छ ।