
एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गरेको फोनवार्तामा पूर्वी युक्रेनको रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण क्षेत्र दोनेत्स्कमाथिको पूर्ण नियन्त्रण सुम्पिनुपर्ने माग गरेको समाचार बाहिरिएको छ ।
पुटिनले यो सर्त पूरा भएमा युद्ध अन्त्य गर्न तयार हुने बताएको दुईजना वरिष्ठ अधिकारीहरूले जानकारी दिएको द वाशिङटन पोस्टले समाचार सार्वजनिक गरेको छ ।
पुटिनले गत ११ वर्षदेखि यो क्षेत्र कब्जा गर्ने प्रयास गर्दै आएका छन् । तर, युक्रेनी सेनाले बारम्बार ती प्रयासहरू विफल बनाउँदै आएको छ । उनीहरू यस क्षेत्रलाई राजधानी किएभतर्फ ?सी सेनालाई बढ्न दिनबाट रोक्ने बलियो ढालको रूपमा हेर्छन् ।
अधिकारीहरूका अनुसार, पुटिनले दोनेत्स्कमा केन्द्रित रही माग राखेर आफ्ना अघिल्ला अडानहरूबाट पछि नहटेको संकेत दिएका छन् । ट्रम्पले भने वार्तामार्फत शान्ति सम्झौता गर्न सकिने आशा व्यक्त गरेका छन् । सन् २०१४ देखि रुस वा रुससमर्थित विद्रोहीहरूले दोनेत्स्कको केही भागमा नियन्त्रण जमाए पनि सम्पूर्ण क्षेत्र कब्जा गर्न उनीहरू कहिल्यै सफल भएका छैनन् ।
ट्रम्पले पुटिनको यस नयाँ मागबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् । यो विषय पहिलोपटक बाहिर आएको हो ।
शुक्रबार ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको महत्त्वपूर्ण भेटपछि जारी गरिएको वक्तव्यमा ट्रम्पले रुसले राखेको मागको समर्थन गरेका छैनन् । उनले निकट भविष्यमा हंगेरीमा पुटिनसँग पुनः भेट गरी युद्ध अन्त्यका सम्भावनाबारे छलफल गर्ने योजना बनाएका छन् ।
जेलेन्स्की भेटपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखे, ‘अब हत्या रोक्ने र सम्झौता गर्ने समय आएको छ ! रगत धेरै बगिसक्यो । युद्ध र आँटले सीमारेखा कोर्ने समय सकियो । दुवै पक्ष आआफ्नो ठाउँमा रोकिनुपर्छ । दुवैलाई विजयको दाबी गर्न दिनुहोस् । इतिहासले निर्णय गरोस् !’
अधिकारीहरूले बताएअनुसार, फोनवार्तामा पुटिनले दोनेत्स्कको पूर्ण नियन्त्रणका सट्टामा आंशिक रूपमा कब्जा गरेका दुई अन्य युक्रेनी क्षेत्र — जापोरिजा र खर्सनका केही भाग त्याग्न सक्ने संकेत दिएका थिए । यो अघिल्लो अगस्ट महिनामा एनकोरेजमा ट्रम्पसँगको शिखर सम्मेलनमा राखिएको मागभन्दा केही कम थियो । केही ह्वाइट हाउस अधिकारीहरूले यसलाई प्रगतिको संकेतका रूपमा व्याख्या गरेका छन् ।
तर, एक वरिष्ठ युरोपेली कूटनीतिकर्मीले भने यसलाई युक्रेनी दृष्टिकोणबाट हेर्दा अपमानजनक भएको बताएका छन् ।
‘यो त आफ्नै खुट्टा बेचेर केही नपाउने स्थिति हो,’ उनले भने ।
ह्वाइट हाउस र क्रेमलिन दुवैले यसबारे तत्काल प्रतिक्रिया दिएका छैनन् ।
पछिल्ला एक वर्षदेखि युद्धको मोर्चा लगभग स्थिर छ । दुवै पक्षले उल्लेखनीय अग्रगमन गर्न सकेका छैनन् । अहिले रुसले युक्रेनको करिब २० प्रतिशत भूभागमा नियन्त्रण जमाएको छ । रूसले सन् २०२२ को फेब्रुअरीमा पूर्ण रूपमा युक्रेनमाथि आक्रमण गरेको थियो ।
गाजामा युद्धविराम र बन्धक साटासाट सम्झौता गराएपछि ट्रम्प फेरि युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा केन्द्रित भएका छन् । उनी महिनौंदेखि कहिले रुस र कहिले युक्रेनको पक्षधरजस्तो देखिन्छन् ।
युक्रेनका अधिकारीहरूले ट्रम्प र जेलेन्स्की शुक्रबारको भेटपछि लामो दूरीका टमाहक क्षेप्यास्त्र पाउने अपेक्षा गरेका थिए । तर, उनीहरू हात खाली फर्किए ।
भेटका क्रममा ट्रम्पका दूत स्टिभ विट्कफले युक्रेनी टोलीसँग दोनेत्स्क सुम्पिने विषयमा जोड दिएको अधिकारीहरूले बताएका छन् । उनले यो क्षेत्र प्रायः रुसीभाषी भएकाले रुसको माग उचित ठहरिने तर्क दिएका थिए । तर, युक्रेनी र युरोपेली अधिकारीहरूले यसलाई ?सी प्रचारबाजीको प्रतिध्वनि मात्र भएको टिप्पणी गरेका छन् ।
राष्ट्रपति जेलेन्स्की सहित धेरै युक्रेनी नागरिकहरू आफ्नो पहिलो भाषा रुसी भएको बताउँछन् । तर, रुसी भाषा बोल्नुले युक्रेनी समाजमा कहिल्यै पनि मस्कोप्रति सहानुभूति जनाउने अर्थ दिएको छैन । सन् २०१४ मा रुसले क्राइमिया कब्जा गरेपछि युक्रेनीहरूले आफ्नै भाषा प्रयोगतर्फ झनै जोड दिएका छन् ।
विट्कफ नै एनकोरेज बैठकअघि क्रेमलिनसँग मुख्य सम्पर्क व्यक्ति थिए । युरोपेली अधिकारीहरूले भने त्यस बैठकले ?सका मागबारे भ्रम सिर्जना गरेको र उल्लेखनीय प्रगति नहुने निष्कर्ष निकालेका छन् ।
अमेरिकाका परराष्ट्रमन्त्री मार्को रुबियो आगामी बुडापेस्ट सम्मेलनका लागि तयारी गरिरहेका छन् जहाँ ट्रम्प र पुटिनबीच पुनः भेटवार्ता हुने तय भएको छ । यो बैठकलाई किएभले सावधानीका साथ स्वागत गरेको छ ।
ट्रम्पले प्रस्ताव गरेको वर्तमान मोर्चासम्म युद्धविरामलाई दीर्घकालीन वार्ताको आधार मान्दै युक्रेनले समर्थन गरेको छ । निजी रूपमा युक्रेनी अधिकारीहरूले ?सले कब्जा गरेका भूभागहरूमा केही समयसम्म वास्तविक नियन्त्रण राख्ने स्वीकारोक्ति गरेका छन् । उनीहरू अहिले अमेरिकासहित युरोपेली देशहरूसँग ठोस सुरक्षा ग्यारेन्टी खोजिरहेका छन् । त्यसो हुँदा ?सले पुनः युद्ध सु? गर्न नसक्ने युक्रेनीहरूको सोच छ ।
?सले फेरि युक्रेनको ऊर्जा संरचनालाई लक्षित आक्रमण बढाएसँगै युक्रेन अर्को कठिन जाडोको सामना गर्न तयार हुँदैछ । किएभले पनि हालै ?सका ठेगानाहरूमा प्रत्याक्रमण थालेको छ ।
ट्रम्पले जेलेन्स्कीसँगको भेटअघि युक्रेनलाई टमाहक क्षेप्यास्त्र पठाउनेबारे विचार गरेका थिए । तर, पुटिनसँग बिहीबारको फोनवार्तापछि उनले त्यस निर्णयबाट पछि हटेको बताइन्छ । जेलेन्स्कीसँग बसेर उनले आफू यो युद्धलाई क्षेप्यास्त्र पठाएर भन्दा पनि वार्तामार्फत अन्त्य गर्न चाहने बताए ।
शुक्रबार पत्रकारहरूले पुटिन समय लम्ब्याउने प्रयास गर्दैछन् कि भनेर सोध्दा ट्रम्पले चिन्ता नलिन आग्रह गरे ।








प्रतिक्रिया