ट्रम्पलाई फकाउनका लागि पाकिस्तानको जोडबल, के हो उद्देश्य ?

504
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गाजामा युद्धविराम गराएपछि गत सोमबार विश्वका नेताहरूका अगाडि आफ्नो ‘विजय प्रदर्शन’ गर्दै पाकिस्तानका शीर्ष सैनिक अधिकृतलाई ‘मेरो मनपर्ने फिल्ड मार्शल’ भन्दै प्रशंसा गरे ।

त्यसपछि उनले प्रधानमन्त्री शहबाज शरीफलाई पोडियम दिए । शरीफले ट्रम्पको युद्धविराम प्रयासको खुलेर प्रशंसा गर्दै क्यामरासामु भाषण दिए । सोही दिन फेरि एकपटक ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको भनी शरीफले घोषणा गरे ।

एक वर्षअघि यस्तो दृश्य अकल्पनीय थियो ।

वाशिङटनले लामो समयदेखि पाकिस्तानसँग दूरी राख्दै आएको थियो किनकि त्यहाँको राजनीतिक अस्थिरता र अमेरिकाले प्रतिबन्ध लगाएका इस्लामिक आतंकवादी समूहहरूसँगका पाकिस्तान सरकारको सम्बन्ध रहेको आरोप थियो । चीनसँग पाकिस्तानको घनिष्ठ सम्बन्ध रहेकाले पनि अमेरिकाले दूरी कायम गरेको थियो ।

ट्रम्पका पूर्ववर्ती जो बाइडनले आफ्नो कार्यकालमा बनेका दुई पाकिस्तानी प्रधानमन्त्रीमध्ये कसैलाई पनि फोन गरेका थिएनन् । सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी अव्यवस्थित रूपमा फर्किएपछि उनले पाकिस्तानलाई विश्वका सबैभन्दा खतरनाक राष्ट्रहरूमध्ये एक भनेका थिए र त्यसले इस्लामाबादलाई क्रोधित बनाएको थियो ।

तर, ट्रम्पले दोस्रो कार्यकालमा अमेरिकाको कूटनीतिक सम्बन्धहरू उल्ट्याउँदै र पुराना मित्रता तोड्दै विपक्षीहरूलाई पनि आफ्नो शासनको परिधिमा तानिरहेका छन् । उनीहरूले ट्रम्पलाई केही दिन सक्ने हो भने ट्रम्प उनीहरूका लागि खुला छन् ।
अहिलेसम्म पाकिस्तानले ट्रम्पलाई फाइदा हुने कुरा दिनमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।

पाकिस्तानका नेताहरू ह्वाइट हाउसका नियमित पाहुना बनेका छन् र अन्य राष्ट्रप्रमुखहरूको विपरीत ट्रम्पका कठोर टिप्पणीहरूबाट बच्न सफल भएका छन् । पाकिस्तानी सेनाले अमेरिकी रेथ्यन मिसाइलहरूको नयाँ खेपको प्रतिक्षा गरिरहेको छ र उसका दूतहरूले भारतमाथि लगाइएका शुल्कभन्दा निकै कम दरमा अमेरिकासँग व्यापारिक सहमति गरेका छन् ।

यो सफलता पाकिस्तानले चीनको नियन्त्रणमा नभएका दुर्लभ खनिजहरूको पहुँच दिने वाचा र ट्रम्पको चापलुसी गरेर हासिल गरेको देखिन्छ ।

हालसम्म पाकिस्तानको कूटनीति देशभित्र लोकप्रिय भएको छ । तर, यसले भारतलाई क्रोधित बनाएको छ किनभने सस्तो रुसी तेल किनिरहेकामा भारी अमेरिकी आयातशुल्कको मारमा भारत परेको छ ।

अमेरिकासँग नयाँ सम्बन्ध सुधारको केन्द्रमा छन् फिल्ड मार्शल आसिम मुनिर । उनी पाकिस्तानका शक्तिशाली सेनाप्रमुख हुन् । सेनाले पाकिस्तानको अस्थिर राजनीतिमा सधैं ठूलो भूमिका खेलेको छ ।

५७ वर्षका मुनिर शिक्षकका छोरा हुन् । उनले सन् २०२२ मा सेनाको शीर्ष पदमा पुग्नुअघि पाकिस्तानको शक्तिशाली गुप्तचर संस्था आईएसआईको नेतृत्व गरेका थिए । भित्री सूत्रका अनुसार, उनी रहस्यमय स्वभावका व्यक्ति हुन् । उनले आफ्नो सार्वजनिक छवि कडाइका साथ नियन्त्रण गर्ने गरेका छन् ।

तर, मे महिनामा पाकिस्तान र भारतबीच चार दिन लामो सशस्त्र संघर्ष हुँदा उनी चर्चामा आए । त्यस संघर्षमा सैनिक र सर्वसाधारण दुवैको मृत्यु भएको थियो । र, यो आणविक हतियार भएका राष्ट्रबीच पूर्ण युद्धमा परिणत हुनसक्ने भनी विश्व समुदायमा चिन्ता बढ्यो ।

छिट्टै नै ट्रम्पले दुवै पक्षलाई युद्ध रोक्न आग्रह गरे । लडाइँ रोकिएपछि उनले त्यसको श्रेय लिए । पाकिस्तानले तुरुन्तै त्यस दाबीलाई समर्थन गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्‍यो । उनको दोस्रो कार्यकालमा त्यस्तो सिफारिस गर्ने पहिलो देश पाकिस्तान बन्यो ।

भारतले भने यसको कडा विरोध गर्दै ट्रम्पले संघर्षविराममा कुनै भूमिका नखेलेको जनायो । यो भारत र पाकिस्तानबीचको द्विपक्षीय मामिला भएको नयाँ दिल्लीले अडान लियो ।

पाकिस्तानले मे महिनाको संघर्षमा सातवटा भारतीय वायुसेना जेट खसालेको दाबी गरेको छ र ट्रम्पले पनि त्यो कुरा बारम्बार दोहोर्याएका छन् । भारतले यो संख्यालाई कहिल्यै पुष्टि गरेको छैन । अझ संघर्षको सुरुतिर त उसले आफ्नो कुनै पनि विमान खसेको छैन भनेर पाकिस्तानी दाबीलाई अस्वीकार गरेको थियो ।

केही दिनपछि मुनिरलाई संकट व्यवस्थापनमा खेलेको अब्बल भूमिकाका लागि भन्दै ‘फिल्ड मार्शल’मा पदोन्नति गरियो र उनी वाशिङटन गए । त्यहाँ उनले ह्वाइट हाउसमा ट्रम्पसँग भोजन गरे । पाकिस्तानी सेनाप्रमुखले अमेरिकाका राष्ट्रपतिसँग पहिलोपटक कुनै नागरिक अधिकारी साथमा नलिइकन भेटघाट गरेका थिए ।

‘ट्रम्पलाई विजेताहरू मन पर्छ,’ वाशिङटनमा बस्ने लेखक तथा विश्लेषक शुजा नवाजले सीएनएनलाई भने ।

‘हार्नेहरू मन पर्दैन भनी उनी बारम्बार भन्छन् । र, मुनिरलाई उनले छिटो निर्णय गर्नसक्ने विजेताका रूपमा देखे । सम्भवतः उनीहरू दुवै युद्धविरामका सन्दर्भमा एउटै विचार राख्थे ।’

सोमबार गाजा शान्ति शिखर सम्मेलनमा बोल्दा ट्रम्पले खाडी मुलुक र इस्लामिक विश्वसँग पाकिस्तानको निकट सम्बन्ध रहेको विषयलाई स्पष्ट मान्यता दिए ।

‘भौगोलिक निकटता र त्यस क्षेत्रका प्रमुख देशहरूसँगको साझेदारीका कारण हालको विश्व परिस्थिति पाकिस्तानको पक्षमा छ,’ एसिया प्यासिफिक फाउन्डेशनका वरिष्ठ अनुसन्धाता माइकल कुगेलम्यानले भने ।

कुगेलम्यानले थपे, पाकिस्तान इरानसँगको सम्बन्ध पनि सहज नै छ र ट्रम्प प्रशासनका लागि पाकिस्तान वाशिङटन र तेहरानबीच सन्देश पुर्‍याउने माध्यम बन्नसक्ने देश हो ।

यो सफलता पाकिस्तानले चीनको नियन्त्रणमा नभएका दुर्लभ खनिजहरूको पहुँच दिने वाचा र ट्रम्पको चापलुसी गरेर हासिल गरेको देखिन्छ

पाकिस्तानले विगतका कठिन कूटनीतिक संवादहरूमा पनि अमेरिकालाई सहयोग गरेको इतिहास छ । सन् १९७१ मा इस्लामाबादबाट हेनरी किसिन्जरको गोप्य चीन भ्रमण पनि पाकिस्तानकै व्यवस्थापनमा सम्भव भएको थियो । त्यसले पछि निक्सनको अमेरिका र माओ जदोङको चीनबीच सम्बन्ध सामान्य बनाउन सहयोग पुर्‍यायो ।

तर, अहिले चीनको नियन्त्रणमा नरहेका दुर्लभ खनिज पदार्थहरूमा पहुँच पाकिस्तानको सबैभन्दा ठूलो ‘कार्ड’ हो । ती पदार्थले आईफोनदेखि एमआरआई मशिन र अत्याधुनिक फाइटर जेटहरूसम्म चलाउँछन् ।

चीनले यस्ता १७ प्रकारका खनिज पदार्थहरूको उत्पादन र प्रशोधनमा लगभग एकाधिकार जमाएको छ र अमेरिकासँगको व्यापार, प्रविधि र अर्थतन्त्रका विवादमा त्यसलाई हतियारका रूपमा प्रयोग गर्न थालेको छ ।

त्यसैले, पाकिस्तानले आफ्नो करिब ८० खर्ब अमेरिकी डलर मूल्य बराबरका खनिज सम्पदाको प्रचार गर्दै आफूलाई ‘क्रिटिकल मिनरल्स’ केन्द्रको रूपमा प्रस्तुत गरिरहेको छ । त्यसले ट्रम्पको ध्यान तानेको छ ।

सेप्टेम्बर महिनामा ह्वाइट हाउसमा भएको भेटको फोटोमा जनरल मुनिरले राष्ट्रपति ट्रम्पलाई पाकिस्तानका विभिन्न खनिजहरू राखिएको काठको बाकस उपहारस्वरूप दिएको देखिन्छ ।

त्यही महिनामा मिसौरीस्थित कम्पनी यूएस स्ट्राटेजिक मिनरल्सले पाकिस्तानबाट पहिलो खेपका समृद्ध दुर्लभ खनिज र आवश्यक तत्त्वहरू प्राप्त गरेको घोषणा गर्‍यो । त्यसको मूल्य ५० करोड डलरको साझेदारी संरचना अन्तर्गत निर्धारण गरिएको हो । यस खेपमा एन्टिमोनी (प्लास्टिकमा प्रयोग हुने पदार्थ), कपर कन्सन्ट्रेट र नियोडिमियम तथा प्रासोडिमियमजस्ता दुर्लभ खनिजहरू सामेल थिए ।

पाकिस्तानका अधिकांश दुर्लभ खनिजहरू बलुचिस्तान प्रान्तमा रहेको बताइन्छ । त्यहाँ दशकौंदेखि स्वतन्त्रताको माग गर्दै सशस्त्र विद्रोह चल्दै आएको छ ।

अगस्ट महिनामा अमेरिकाले बलुचिस्तान लिबरेशन आर्मीलाई आतंकवादी संगठनको सूचीमा राख्यो । यही समूहलाई लामो समयदेखि भारतले सहयोग गरेको आरोप पाकिस्तानले लगाउँदै आएको छ ।

कतिपयलाई अमेरिकासँग मुनिरको सम्बन्ध विस्तारमा बढ्दो भूमिकाले पाकिस्तानमा सेनाको राजनीतिक प्रभावबारे पुराना चिन्ताहरू दोहोर्याएको छ ।

सन् १९४७ मा स्वतन्त्रता पाएदेखि पाकिस्तानमा चारपटक सेनाले शासन चलाएको छ र तीन पटक सैनिक कू भएको छ । सन् १९७३ को संविधान लागू भएपछि कुनै पनि प्रधानमन्त्रीले पूर्ण पाँच वर्षको कार्यकाल पूरा गर्न सकेका छैनन् ।

मुनिरले सेनामाथि नियन्त्रण अझ कडा बनाएका छन् र सरकार तथा सर्वोच्च अदालतसम्म आफ्नो प्रभाव बढाएका छन् भनी मुनिरका आलोचकहरू बताउँछन् ।

गत महिना एम्नेस्टी इन्टरनेशनलले प्रकाशन गरेको रिपोर्टमा राज्यले मानवअधिकारकर्मी र विपक्षी कार्यकर्ताहरूलाई नियन्त्रणमा राख्ने काम जारी राखेको उल्लेख गरेको छ । विशेषगरी पाकिस्तानी सेनाको आलोचना गर्नेहरूलाई कठोर नियन्त्रण गरिएको आरोप छ ।

मिसौरीस्थित यूएस स्ट्राटेजिक मिनरल्ससँगको साझेदारीमा पाकिस्तानतर्फको संस्था फ्रन्टियर्स वर्क्स अर्गनाइजेशन हो र त्यो सेनाको स्वामित्वमा छ । त्यसैले साझेदारी सफल भएमा त्यसको लाभ सेनालाई प्राप्त हुनेछ ।

सीएनएनले अमेरिकासँगको सम्बन्धबारे प्रश्न गर्दा पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ताले द्विपक्षीय सम्बन्ध साझा चासोहरूमा आधारित रहेको बताए । क्षेत्रीय स्थिरता, सुरक्षा, र आर्थिक सहयोग साझा सरोकारको विषय भएको उनको कथन छ ।

तर, विज्ञहरूले भने यो सम्बन्ध एउटा सीमासम्म मात्र सुधार हुने बताउँछन् ।

पाकिस्तानका पूर्व राजदूत हुसैन हक्कानीका अनुसार, यो सम्बन्ध ट्रम्पकै इच्छामा निर्भर रहनेछ ।

‘ट्रम्पको असामान्य राष्ट्रपति हुन्,” हक्कानीले भने । हक्कानी वाशिङटन डीसीको हडसन इन्स्टिच्युट र अबुधाबीको अन्वर गर्गाश डिप्लोमेटिक एकेडेमीका अनुसन्धाता हुन् ।

‘ट्रम्प अहिले पाकिस्तानलाई मन पराउँछन् किनभने पाकिस्तानले पनि उनलाई मन पराएको छ र उनको प्रशंसा गरेको छ । नोबेल शान्ति पुरस्कारको सिफारिस पनि त्यसैकारण गरिएको हो ।’

सीएनएनमा प्रकाशित सोफिया सैफीको सामग्रीको नेपाली अनुवाद