
काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनाको मृत्युबारे प्रश्न उठाएको छ । सेनाले ती व्यक्तिहरूलाई ‘अन्य’ सूचीमा राख्दै उनीहरूको मृत्यु कसरी र कसको कारणले भयो भन्ने स्पष्ट हुन बाँकी रहेको जनाएको हो ।
शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयले पत्रकार सम्मेलन गर्दै चैत २३ र २४ गतेका घटनाबारे विस्तृत विवरण सार्वजनिक गरेको हो । विवरणअनुसार २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको छ । बाँकी ४१ जनालाई भने ‘अन्य’ श्रेणीमा राखिएको छ ।
सेनाको भनाइमा २२ जना प्रदर्शनकारी प्रहरीको गोलीबाट मारिएका हुन् भने जेलबाट भाग्ने क्रममा १० जना कैदीको मृत्यु भएको हो । आन्दोलनकारीले आक्रमण गर्दा ३ जना प्रहरीको ज्यान गएको थियो । तर अन्य ४१ जनाको मृत्यु लुटपाट, आगजनी वा आफ्नै लगाएको आगोमा परेर भएको हुनसक्ने सेनाको अनुमान छ ।

भाटभटेनीसहितका स्थानमा आगलागी र तोडफोडका क्रममा जलेर मारिएका व्यक्तिहरूलाई पनि सेनाले ‘अन्य’ सूचीमा राखेको जनाएको छ । सेनाले आन्दोलनका क्रममा लुटिएका ९७८ मध्ये ५८६ हतियार फिर्ता भएको जानकारीसमेत दिएको छ ।
सेनाले जेनजी प्रदर्शनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यले जिलेटिनसहित पुगेको समूहलाई सुरक्षाकर्मीले पक्राउ गर्न सफल भएको जनाएको छ।
सहायक रथी मनोज थापाले यस्तो जानकारी दिएका हुन् । ‘विमानस्थल आक्रमणको योजनासहित आएका व्यक्तिहरूलाई हामीले समयमै नियन्त्रणमा लियौं,’ उनले भने, ‘यदि विमानस्थल बन्द भएको भए नेपालको अन्तर्राष्ट्रिय छवि गम्भीर रूपमा प्रभावित हुने थियो।’








प्रतिक्रिया