
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यले जिलेटिनसहित पुगेको समूहलाई सुरक्षाकर्मीले पक्राउ गर्न सफल भएको नेपाली सेनाले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको विवरण सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहायक रथी मनोज थापाले उक्त जानकारी दिएका हुन् । ‘विमानस्थल आक्रमणको योजनासहित आएका व्यक्तिहरूलाई हामीले समयमै नियन्त्रणमा लियौं,’ उनले भने, ‘यदि विमानस्थल बन्द भएको भए नेपालको अन्तर्राष्ट्रिय छवि गम्भीर रूपमा प्रभावित हुने थियो।’
सेनाका अनुसार आन्दोलनका क्रममा ९७८ वटा हतियार लुटिएका थिए, जसमध्ये ५८६ वटा मात्र फिर्ता भएका छन् । त्यस्तै, १५ हजार ५८८ जना कैदीबन्दीमध्ये ८ हजार ७९९ जना पक्राउ वा फिर्ता भएका छन्।
२४ गते भएको तोडफोड र आगजनीमा ६८८ सरकारी कार्यालयमा क्षति पुगेको सेनाले जनाएको छ।
त्यसैगरी, ३०७ प्रहरी कार्यालय, २५९ निजी निवास, १९८ राजनीतिक दलका कार्यालय, र १२८ व्यापारिक प्रतिष्ठानमा समेत आगजनी र तोडफोड भएको विवरण सार्वजनिक गरिएको छ।
जेन–जी आन्दोलनका क्रममा २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र अन्य ४१ गरी कुल ७६ जनाको मृत्यु भएको सेनाले जनाएको छ।
आन्दोलनका कारण उत्पन्न अवस्थाबीच ६१ जना भीआईपीको हवाई उद्धार गरिएको पनि सेनाले जानकारी दिएको छ।








प्रतिक्रिया