
एजेन्सी । दक्षिण अमेरिकी मुलुक पेरुमा नवनियुक्त राष्ट्रपति होसे जेरीका विरुद्ध बुधवार राति प्रदर्शन हिंस्रक बन्दा एकजनाको मृत्यु भएको छ ।
दर्जनौं प्रहरी अधिकृतहरू घाइते भएका छन् ।
सरकारले राजधानी लिमामा संकटकाल घोषणा गरेको छ । बढ्दो असुरक्षालाई व्यवस्थापन गर्नका लागि विभिन्न उपायहरूको प्याकेज तयार पारिरहेको प्रधानमन्त्री अर्नेस्टो अल्भारेजले बताएका छन् ।
जेनजी आन्दोलनकारीहरूले आह्वान गरेको विरोध प्रदर्शनलाई यातायात मजदूर र नागरिक समाज समूहले एक्यबद्धता जनाएका थिए ।
यसअघि पनि उनीहरूले भ्रष्टाचार र बढ्दो अपराधका विरुद्ध प्रदर्शन गर्दै आएका थिए । त्यसले राष्ट्रपति डिना बोलुआर्तेलाई महाभियोग लगाएर पदमुक्त गराउन प्रमुख भूमिका खेलेको थियो ।
हजारौं प्रदर्शनकारी देशभरि विभिन्न ठाउँमा भेला भएर नयाँ राष्ट्रपतिको विरोध गरेका थिए । राजधानी लिमामा संसद् भवनबाहिर सयौं प्रदर्शनकारीहरू प्रहरीसँग भिडेका थिए । प्रहरीले अश्रूग्यास प्रहार गर्दा प्रदर्शनकारीहरूले ढुंगा र बलेका कुराहरू फालेका थिए ।
‘सबैजना हट्नुपर्छ,’ प्रदर्शनकारीहरूले यसो भन्दै नारा लगाएका थिए । उनीहरूले संसद् भवन जाने बाटोमा रहेको धातुको ब्यारियर भत्काउन खोजेपछि प्रहरीसँग भिडन्त भएको थियो ।
एडुआर्डो मौरिसियो रुइज नामक ३२ वर्षीय युवकको प्रदर्शनका क्रममा मृत्यु भएको थियो । उनलाई गोली लागेको र घटनाको अनुसन्धान गरिने बताइएको छ ।
विरोध प्रदर्शनका विषयमा चर्चा गर्न संसदीय बैठकमा भाग लिएपछि राष्ट्रपति जेरीले सार्वजनिक सुरक्षाका विषयमा कानून बनाउनका लागि संसद्सँग अनुमति मागेको बताए ।
जेरीले कारागार सुधारमा जोड दिइएको जानकारी दिए ।
त्यसलगत्तै संसदमा बोलेका नवनियुक्त गृहमन्त्री भिसेन्ते टिबुरसियोले प्रहरीमा व्यापक सुधारका लागि सरकारले प्रयास गर्ने बताए । प्रदर्शनका क्रममा ८९ जना प्रहरी र २२ जना सर्वसाधारण घाइते भएको उनले जानकारी दिए । ११ जनालाई हिरासतमा राखिएको पनि उनले बताए ।








प्रतिक्रिया