
एजेन्सी । दक्षिण अमेरिकामा अमेरिकी सेनाको नेतृत्व गर्ने एड्मिरल एल्भिन होल्सीले राजीनामा दिएको रक्षामन्त्री पिट हेगसेथले घोषणा गरेका छन् ।
भेनेजुएलासँग अमेरिकाको तनाव चर्किरहेको समयमा होल्सीले राजीनामा दिनुलाई आश्चर्यजनक मानिएको छ ।
रोयटर्स समाचार संस्थाका अनुसार, होल्सी र हेगसेथबीच क्यारिबियाली क्षेत्रमा सैन्य कारवाही चलाउने विषयमा विवाद थियो । उनलाई पदबाट बर्खास्त गरिने भनी हल्ला चलिरहेको थियो ।
होल्सीले किन राजीनामा दिएका हुन् भनी हेगसेथले कारण खुलाएनन् ।
होल्सी अमेरिकाको सैन्य कमान्डको नेतृत्व गर्ने कालो रंगका जम्मा दुईजना चारतारे अधिकृतमध्येका एक हुन् ।
सामाजिक सञ्जाल एक्समा होल्सीले विगत ३७ वर्षदेखि देश र अमेरिकी जनताको सेवा गर्न पाउनु र संविधानलाई प्रतिरक्षा गर्नु सम्मानको विषय भएको लेखे ।
भेनेजुएला सरकारविरुद्ध कारवाही चलाउने उद्देश्यका साथ अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले क्यारिबियाली समुद्रमा गाइडेड मिसाइल डिस्ट्रोयर, एफ–३५ लडाकु विमान, आणविक पनडुब्बी र करिब ६५ सय सैनिकहरू तैनाथ गरेका छन् ।
अमेरिकी सेनाले भेनेजुएलाबाट छुटेका लागूऔषध बोकेको भनिएका डुंगाहरूमा विभिन्न आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ । त्यस्तो आक्रमण युद्धको नियमविपरीत भएको कानूनविद्हरूले आरोप लगाएका छन् ।
ट्रम्प प्रशासनले भेनेजुएलाका लागूऔषध आतंकवादीहरूका विरुद्ध युद्ध गरिरहेकाले यी आक्रमणहरू वैध भएको तर्क गरेको छ ।
बुधवार ट्रम्पले गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) लाई भेनेजुएलामा गोप्य कारवाही गर्नका लागि अनुमति दिएको बताएका थिए । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई सत्ताच्युत गर्नका लागि अमेरिकाले प्रयास गरेको अनुमान गरिएको छ ।
हेगसेथले पेन्टागन सम्हालेदेखि सैन्य अधिकृतहरूलाई राजीनामा दिन लगाइरहेका छन् । जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष सीक्यू ब्राउन र जलसेनाकी उच्च अधिकृत लिसा फ्रान्चेत्तीलाई अनायास हटाइएको थियो ।








प्रतिक्रिया