
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गुप्तचर निकाय सीआईएलाई भेनेजुएलामा गोप्य कारवाही चलाउनका लागि स्वीकृति दिएको पुष्टि गरेका छन् ।
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोमाथि अमेरिकाले लगातार दबाब बढाइरहेको अवस्थामा यो पछिल्लो घटनाक्रम हो ।
द न्युयोर्क टाइम्समा छापिएको खबरअनुसार, मदुरोलाई सत्ताच्युत गर्ने रणनीति ट्रम्प प्रशासनले बनाएको छ । मदुरोलाई लागूऔषध तस्करीको आरोप लगाएर पक्राउ तथा अभियोजनका लागि सूचना दिने व्यक्तिलाई ५ करोड डलर बराबरको इनाम दिइने घोषणा गरिएको छ ।
ट्रम्पको स्वीकृतिपश्चात् सीआईएले भेनेजुएलामा घातक कारवाही समेत गर्न पाउँछ ।
किन सीआईएलाई भेनेजुएलामा कारवाही गर्ने अधिकार दिएको भनी पत्रकारहरूले सोध्दा ट्रम्पले भेनेजुएलावासीहरूलाई अमेरिकामा प्रवासी बन्न पठाएको र लागूऔषध तस्करी गरिरहेकोले गर्दा यो निर्णय लिइएको बताए ।
‘मैले वास्तवमा दुई कारणले गर्दा यसको स्वीकृति दिएको हो,’ ट्रम्पले बताए, ‘पहिलो कुरा, उनीहरूले आफ्नो कारागारै खाली गरेर अपराधीलाई अमेरिका पठाएका छन् । ती अपराधी सीमा पार गरेर अमेरिका आएका छन् । हाम्रो सीमा खुला भएकाले उनीहरू आएका हुन् । अनि अर्को कुरा, लागूऔषध तस्करी हो ।’
भेनेजुएलाले कैदीहरू अमेरिका पठाएको विषयमा ट्रम्पले प्रमाण पेश गरेका छैनन् ।
अमेरिकाले समुद्रमा लागूऔषध बोकेका जहाजलाई तारो बनाइरहेको र अब स्थलमार्गमा पनि अतिरिक्त प्रयास गर्ने ट्रम्पले बताए ।
सीआईएले भेनेजुएलामा कुन विशिष्ट काम गर्न लगाएका हुन् भनी स्पष्ट छैन । ऐतिहासिक रूपमा सीआईएले लक्षित मुलुकमा सूचना संकलन, अर्धसैनिक बलसँग सम्पर्क र अन्य सहायक भूमिका निर्वाह गर्ने गरेको छ ।
दक्षिण अमेरिकामा सीआईएले लामो समयदेखि विभिन्न कारवाही चलाउँदै आएको छ । विशेषगरी शीतयुद्धको समयमा सीआईएले सत्तापरिवर्तनमा भूमिका खेलेको थियो । २०औं शताब्दीको अन्त्यतिर दक्षिण अमेरिकाका कोकेन तस्करहरूको साम्राज्य ढाउन उसले मद्दत गरेको थियो । मेक्सिकोका कुख्यात लागूऔषध तस्करहरूलाई पत्ता लगाउनका लागि सीआईएले गोप्य कारवाही चलाउँदै आएको छ ।
ट्रम्पले गरेको टिप्पणीले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको भेनेजुएला सरकारको भनाइ छ । अमेरिकाले भेनेजुएलाको तेलमा कब्जा गर्नका लागि सत्तापरिवर्तन गर्न खोजेको काराकासले आरोप लगाएको छ ।








प्रतिक्रिया