
एजेन्सी । पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले भारतका तर्फबाट अफगानिस्तानको तालिबानले छद्मयुद्ध लडिरहेको दाबी गरेका छन् ।
इस्लामाबाद र काबुलबीच भएको ४८ घन्टे युद्धविरामका विषयमा पनि उनले शंका गरेको डन पत्रिकाले समाचार प्रकाशन गरेको छ ।
आसिफले भने, ‘युद्धविराम कायम हुने विषयमा मलाई शंका छ किनकि तालिबानलाई दिल्लीले प्रायोजन गरेको छ । अहिले दिल्लीका लागि काबुलले छद्मयुद्ध लडिरहेको छ ।’
सीमामा कैयौं दिनसम्म चलेको युद्धपछि पाकिस्तान र अफगानिस्तानबीच बुधबार युद्धविराम भएको छ । तर, कसले यसका लागि पहिले प्रस्ताव गरेको हो भनी फरकफरक दाबी आएका छन् ।
तालिबान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले भने, ‘पाकिस्तान सरकारको अनुरोधमा दुई देशबीच साँझ साढे ५ बजेदेखि युद्धविराम लागु हुनेछ । अफगान सेनालाई युद्धविराम पालन भए नभएको विषयमा चनाखो नजर लगाउन भनिएको छ ।’
पाकिस्तानको वायुसेनाले काबुल र कन्दहारका विभिन्न क्षेत्रमा आक्रमण गरेपछि युद्धविरामको घोषणा भएको हो ।
दुवै तर्फ गरी कतिजना हताहत भएको खुलाइएको छैन । तर, अफगान सैनिकहरूले पाकिस्तानका विभिन्न सैन्य अड्डामा भारी क्षति गरेको मुजाहिदले दाबी गरेका छन् ।
पाकिस्तानमा अनेकौं आक्रमण गर्ने प्रतिबन्धित तहरीक–ए–तालिबानका लडाकुहरूलाई अफगानिस्तानमा शरण दिएको आरोप पाकिस्तानले लगाएको छ । अफगानिस्तानले चाहिँ आफ्नो भूमिमा बारम्बार हवाई आक्रमण र अतिक्रमण गरेको आरोप पाकिस्तानमाथि लगाएको छ ।
संयुक्त राष्ट्रसंघले दुवै देशलाई युद्ध नचर्काउनका लागि आग्रह गरेको छ ।
भारतको ६ दिने भ्रमण गरेका तालिबानका विदेशमन्त्री आमिर खान मुत्ताकीले अफगानिस्तान सबै देशसँग शान्ति चाहन्छ भने ।पाकिस्तानसँगको सीमायुद्धका विषयमा सोध्दा उनले अफगानिस्तानका अन्य पाँच छिमेकी भएको र ती सबैसँग खुशी रहेको बताए ।








प्रतिक्रिया