फागुन २१ को चुनाव बारे दलहरूसँगको छलफलमा जुट्यो आयोग, कुन दलका को को पुगे ?

0
Shares

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा निर्वाचन आयोगले सर्वदलीय छलफल सुरु गरेको छ ।

कान्तिपथस्थित आयोगकै सभाकक्षमा सुरु भएको बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबैजसो राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्। बैठकमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा (एमाले) का उपाध्यक्ष गुरु बराल, नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कवीन्द्र बुर्लाकोटी, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेसहित अन्य दलका नेताहरू उपस्थित छन्।

निर्वाचन आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजयी भएका राजनीतिक दललाई छलफलका लागि पत्राचार गरेको थियो।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निष्पक्ष, स्वच्छ र विश्वासिलो निर्वाचन वातावरण बनाउन दलहरूलाई सक्रिय भूमिका निभाउन आग्रह गरे।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि नयाँ सरकार गठन नहुने अवस्था सिर्जना भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकिएको थियो।

निर्वाचन आयोगले आजको छलफलमार्फत तयारीका कार्यबारे राजनीतिक दललाई जानकारी गराउँदै उनीहरूको सुझाव लिने उद्देश्य राखेको छ। आयोगले नयाँ दलहरूलाई कात्तिक मसान्तभित्र दल दर्ता गरी प्रमाणपत्र लिन पनि आह्वान गरेको छ।