हमासले हस्तान्तरण गरेको शरीर विपिन जोशीकै भएको फरेन्सिक विज्ञले गरे पुष्टि

462
Shares

एजेन्सी । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायललाई सोमवार राति चार बन्दीको शरीर हस्तान्तरण गरेको छ ।

ती शरीरलाई फरेन्सिक विज्ञहरूले पहिचान गरेर परिवारजनलाई सूचना दिइसकेको द टाइम्स अफ इजरायलले समाचार प्रकाशन गरेको छ ।

इजरायल डिफेन्स फोर्सेसका प्रतिनिधिहरूले नेपालका विपिन जोशी र इजरायलका गाई इलुजको शरीर पहिचान गरेका हुन् ।
अन्य दुई बन्दीको नाम पछि प्रकाशन गरिने इजरायलको भनाइ छ ।

हमासले योसी शराबी र क्याप्टेन डेनियल पेरेजको शव पनि हस्तान्तरण गरिसकेको जनाएको छ ।

विपिन जोशीको मृत्युलाई इजरायलले लामो समयसम्म पुष्टि गरेको थिएन । उनलाई किबुज अलुमिममा रहेको बम शेल्टरबाट हमासका लडाकुहरूले अपहरण गरेका थिए ।

युद्ध सुरु भएको केही महिनापछि नै उनलाई बन्दी अवस्थामा हत्या गरिएको हुन सक्ने इजरयाली सेनाले अनुमान गरेको छ ।

इलुजलाई पनि गाजामा घाइते अवस्थामा राखिएको र उपचारको अभावमा उनको ज्यान गएको इजरायली सेना जनाउँछ ।

अबु काबिर फरेन्सिक इन्स्टिच्युटले जोशी र इलुजको मृत्युको परिस्थितिबारेमा जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष सुनाउने इजरायली सेनाको भनाइ छ ।

हमासले अझै पनि २४ मृत बन्दीहरूको शरीर बुझाउन बाँकी छ ।