
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वमा ऐतिहासिक बिहानी आएको बताएका छन् ।
इजरायल र हमासबीच युद्धविराम सहमतिको पहिलो चरणमा बन्दीहरूको रिहाइ भएपछि इजरायलको संसदमा सम्बोधन गर्दै ट्रम्पले यो धारणा राखेका हुन् ।
हमासको नियन्त्रणमा रहेका २० जना जीवित बन्दीहरू इजरायली भूमिमा पुगेपछि ट्रम्पको सम्बोधन आएको हो ।
‘वर्षौंसम्मको युद्ध र अन्त्यहीन खतरापछि आज आकाश शान्त छ, बन्दूकहरू मौन छन्, साइरन बज्न छोडेका छन् र पवित्र भूमिमा सूर्योदय भएको छ,’ ट्रम्पले बताए ।
युद्धविराम इजरायल र शान्तिका लागि काम गरिरहेका सबै मुलुकको अविश्वसनीय विजय भएको ट्रम्पको भनाइ छ । इजरायलले हतियारको बलमा जित्न सक्ने सबै कुरा जितिसकेको उनले बताए ।
‘अब आतंकवादीहरूमाथिको यस विजयलाई सम्पूर्ण मध्यपूर्वको शान्ति र समृद्धिमा परिणत गर्नुपर्नेछ,’ उनले बताए ।
‘आतंकवाद र अतिवाद, जिहाद र यहुदीविरोधीलाई प्रश्रय दिएर कुनै उपलब्धि हासिल नभएको कुरा सबैले बुझ्नुपर्छ,’ ट्रम्पले भने, ‘त्यस्तो कामको उल्टो परिणाम आएको छ ।’
‘गाजादेखि इरानसम्म यस्ता कटु घृणाहरूले दुःख, पीडा र असफलता मात्र ल्याएका छन्,’ इजरायली संसदमा ट्रम्पले बताए ।
अब गाजामा प्यालेस्टाइनीहरूले स्थिरता, सुरक्षा, मर्यादा र आर्थिक विकास पुनःस्थापित गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्ने ट्रम्पको भनाइ छ । त्यसो गर्दा मात्र उनीहरूका सन्ततिको जीवन सुखद हुने ट्रम्पले बताए ।







प्रतिक्रिया