हमासलाई केही समयका लागि हतियार बोक्न अमेरिकाले नै स्वीकृति दिएको ट्रम्पको भनाइ

1.3k
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गाजामा हमास पुनः सशस्त्र हुन थालेको जानकारी आफूलाई रहेको बताएका छन् ।

निश्चित समयका लागि हमासलाई हतियार बोक्न अमेरिकाले स्वीकृति दिएको उनको भनाइ छ ।

इजरायल जाँदै गर्दा एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले हमास प्यालेस्टाइनी प्रहरी बलका रूपमा परिणत हुन थालेको खबरलाई पुष्टि गरे । महिनौंको युद्धपछि कानून व्यवस्था कायम गर्नका लागि हमासले प्रयास गरिरहेको ट्रम्पको भनाइ छ ।

‘उनीहरू यस विषयमा खुला छन् र हामीले निश्चित समयका लागि त्यसको स्वीकृति दिएका छौं, उनले बताए, ‘उनीहरूले करिब ६० हजार मानिस गुमाएको कुरा तपाईंले बुझ्नुपर्छ । त्यो ठूलो प्रतिशोध हो ।’

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले गरेको आक्रमणमा ६७ हजारभन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको छ । त्यसमा २० हजारभन्दा बढी बालबालिका छन् ।

गाजा पूरै ध्वस्त भएको बताउँदै ट्रम्पले गाजावासीहरू फर्कंदै गर्दा खराब घटनाहरू हुन सक्ने आशंका गरे । त्यहाँ फर्केका निवासीहरूले गाजालाई सुरक्षित रूपमा पुनर्निर्माण गर्न सकून् भनी अमेरिकाले सुनिश्चित गर्न चाहेको ट्रम्पको भनाइ छ ।

युद्धविराम सम्झौतामा हमासलाई निःशस्त्रीकरण गर्ने विषयमा सहमति जुटाउन गाह्रो पर्नेछ । कसरी र कहिले हमासलाई निःशस्त्र बनाउने भनी सम्झौताकारहरूबीच एकमत छैन ।