
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानको आयातमा १०० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएपछि चीनले त्यसको कडा प्रतिकार गर्ने जनाएको छ ।
गत शुक्रवार ट्रम्पले चिनियाँ सामानमा अतिरिक्त करका साथै महत्त्वपूर्ण सफ्टवेयरमा थप नियन्त्रण गरिने घोषणा गरेका थिए ।
यसले व्यापारयुद्धको स्थिति ल्याएको र यसको प्रतिकार गरिने चीनको वाणिज्य मन्त्रालयको भनाइ छ ।
चर्को भन्सार शुल्कको धम्की दिएर चीनसँग सम्बन्ध कायम गर्न सकिँदैन, चीनको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले बताए । व्यापारयुद्धमा चीनको एउटै अडान छ । हामी यो चाहँदैनौं र यससँग डराउँदैनौं, उनले थपे ।
अमेरिका गलत बाटोमा गइरहने हो भने चीनले आफ्ना वैध अधिकार र चासोको संरक्षणका लागि कठोर उपाय अपनाउने उनको भनाइ छ ।
ट्रम्पको घोषणापछि अमेरिकाको स्टक मार्केटमा गिरावट आएको थियो । त्यसपछि ट्रम्प र अमेरिकी प्रशासनका अधिकारीहरूले व्यापार सम्झौताका लागि लचिलोपन देखाएका छन् ।
अमेरिकी उद्योगका लागि आवश्यक दुर्लभ खनिज पदार्थको निर्यातमा चीनले विभिन्न किसिमका बन्देज लगाएपछि ट्रम्पले अतिरिक्त आयातकरको धम्की दिएका थिए ।
तर, स्टक मार्केटमा पहिरो गएपछि लचिलो हुँदै ट्रम्पले अत्यन्त सम्मानित चीनका राष्ट्रपति सी चिनपिङ र आफूले आर्थिक मन्दी गराउन नचाहेको बताए ।
चप्नले होलमियम, एर्बियम, थुलियम, युरोपियम र इट्टरबियम जस्ता खनिज पदार्थको निर्यातमा नियन्त्रण गर्नु वैध काम भएको अडान लिइरहेको छ ।








प्रतिक्रिया