
एजेन्सी । अफगानिस्तानका तालिबान र उससँग आबद्ध २०० लडाकुहरूलाई आइतबार रातिको भिडन्तमा मारेको पाकिस्तानी सेनाले दाबी गरेको छ ।
तालिबान सैन्यबलहरूले अफगानिस्तान र पाकिस्तानको सीमामा अनावश्यक रूपमा आक्रमण गरेपछि प्रतिकार कारवाहीमा उनीहरूलाई मारेको पाकिस्तानको भनाइ छ ।
पाकिस्तानको इन्टर–सर्भिसेस पब्लिक रिलेशन्सले आधिकारिक विज्ञप्ति निकाल्दै अक्टोबर ११ र १२ को राति भएको भिडन्तमा गोली हानाहान भएको र सीमापार छापा मारेको जनायो ।
आफूले तालिबानका चौकी, शिविर र सहायक पूर्वाधारलाई ध्वस्त बनाएको पाकिस्तानी सेनाको दाबी छ ।
यस भिडन्तमा २३ जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् । तालिबानका २१ वटा चौकीमा अस्थायी नियन्त्रण कायम गरेको र लडाकु प्रशिक्षण केन्द्रहरूलाई ध्वस्त बनाएको पनि पाकिस्तानको दाबी छ ।
उता तालिबानले चाहिँ आफ्नो आक्रमणमा ५८ जना पाकिस्तानी सेना मारिएको जनाएको छ ।
पाकिस्तान र तालिबानबीच हालैका दिनमा तनाव चर्केको थियो । बिहीवार राति पाकिस्तानी विमानहरूले काबुल र पाक्तिया प्रान्तका विभिन्न क्षेत्रमा बमवर्षा गरेको थियो । तहरीक–ए–तालिबान पाकिस्तानका लडाकुहरूलाई लक्षित गरी पाकिस्तानले आक्रमण गरेको बताइएको छ । त्यसपछि तालिबानले पाकिस्तान सीमा अर्थात् डुरान्ड लाइनमा जवाफी कारवाही चलाएको थियो ।
सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि पाकिस्तानी सीमामा तनाव चर्किरहेको छ । सन् २०२५ मा मात्र ताबिलान र पाकिस्तानी सेनाबीच १४ वटा भिडन्त भएका छन् ।








प्रतिक्रिया