
एजेन्सी । प्यालेस्टाइनी लडाकु समूह हमासले गाजामा युद्धविरामपछि शासनसत्ता नचलाउने एएफपी समाचार संस्थाले समाचार दिएको छ ।
गाजा शान्ति सम्मेलनका लागि विश्वका नेताहरू इजिप्टमा भेला भइरहँदा हमासको यस्तो दाबी सार्वजनिक भएको हो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा युद्ध रोक्नका लागि प्रस्ताव गरेको २० बुँदे योजनामा हमासको निःशस्त्रीकरण र युद्धोत्तर गाजाको शासन चलाउन नपाउने उल्लेख छ ।
‘हमासका लागि गाजापट्टिमा शासनको अध्याय बन्द भइसकेको छ । हमास संक्रमणकालको चरणमा सहभागी हुने छैन ।
त्यसको अर्थ हुन्छ– उसले गाजापट्टिको नियन्त्रण गर्ने छैन । तर, हमास प्यालेस्टाइनको अभिन्न अंग रहिरहनेछ,’ एक स्रोतले एएफपीलाई बतायो ।
उक्त क्षेत्रमा रहेका ठूला लडाकु संगठनभन्दा फरक हमासको नेतृत्व महत्त्वपूर्ण विषयमा विभाजित छ । भविष्यमा गाजाको शासनका विषयमा पनि हमासको एकीकृत धारणा छैन ।
तर, निःशस्त्रीकरणको सवालमा हमासका सबै शीर्ष सदस्यहरूको एकमत छ । उनीहरूले यसलाई लक्ष्मणरेखा मानेका छन् ।
हमासले दीर्घकालीन युद्धविराममा सहमति जनाएको छ र इजरायलले गाजामा आक्रमण गरेको अवस्थामा बाहेक हमासले आक्रमण गर्ने छैन भनी स्रोत बताउँछ ।
तर, हमासको निःशस्त्रीकरणको सवालै नउठ्ने अर्का हमास सदस्यको भनाइ छ ।
ट्रम्पको शान्ति योजनाको पहिलो बुँदामा नै गाजालाई उग्रवादीरहित आतंकमुक्त क्षेत्र बनाउने र छिमेकीहरूलाई जोखिम नतेर्स्याउने उल्लेख छ ।
योजनामा गाजापट्टिको शासनमा हमासको भूमिका नरहने र उसको सैन्य संरचना तथा हतियार नष्ट गर्ने पनि उल्लेख छ ।
गैरराजनीतिक प्राविधिक समितिले गाजामा शासन चलाउनेछ ।







प्रतिक्रिया