
एजेन्सी । अफ्रिकी मुलुक मादागास्कारमा जेनजी आन्दोलन चर्किंदै जाँदा त्यहाँको सेनाको विद्रोही इकाइले सेना आफ्नो नियन्त्रणमा रहेको घोषणा गरेको छ ।
राष्ट्रपति आन्द्री राजोलिनाले अवैध रूपमा बलपूर्वक सत्ताकब्जा गर्ने प्रयास भइरहेको बताएका छन् । उनले समस्या समाधानका लागि संवाद र एकता मात्र सही बाटो भएको भनाइ पनि राखेका छन् ।
क्यापस्याट भनिने सैन्य इकाइमा प्रशासनिक र प्राविधिक अधिृकतहरू हुन्छन् । राजधानी अन्तानानारिभोमा शनिवार भएको सरकारविरोधी प्रदर्शनमा उनीहरू पनि सहभागी भए । दुई हप्ताभन्दा बढी समयदेखि भइरहेको प्रदर्शनमा सेनाको इकाइ समेत सहभागी भएपछि नाटकीय मोड आएको छ ।
क्यापस्याटका अधिकृतहरूले प्रदर्शनकारीमाथि गोली हान्ने आदेशको अवज्ञा गरेका थिए । उनीहरूले अत्यधिक बलप्रयोग गरेको भन्दै प्रहरीको आलोचना पनि गरेका थिए । प्रहरीले अत्यधिक बलप्रयोग गर्दा कैयौंको ज्यान गएको छ ।
मालागासी सेनाका स्थल, वायु र जलसेनाका सबै आदेशहरू क्यापस्याट मुख्यालयबाट मात्र दिइने भनी विद्रोही सैनिकहरूले भिडियोमार्फत विज्ञप्ति जारी गरेका छन् ।
राष्ट्रपति राजोलिनाले आइतवार विज्ञप्ति जारी गरेर संविधान तथा लोकतान्त्रिक सिद्धान्तविपरीत अवैध रूपमा शक्ति हत्याउने प्रयास भइरहेको बताए ।
शनिवार क्यापस्याट इकाइका सैनिकले ब्यारेकबाहिर प्रहरीसँग भिडन्त गरेका थिए । त्यसपछि उनीहरू राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन गरिरहेका विरोधकर्ताहरूसँग मिसिन पुगेका थिए ।
प्रहरीले गल्ती र ज्यादती भएको स्वीकार गर्दै सुरक्षाबलहरूबीच सहकार्यको आह्वान गरेको छ ।
गत सेप्टेम्बर महिनादेखि माडागास्कारमा विरोध प्रदर्शन सुरु भएको हो । बिजुली र पानीको अभाव भएकोमा जनतामाझ चरम आक्रोश छ । विरोध प्रदर्शनमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
क्यापस्टा इकाइ रहेको सोआनिएराना सैन्य अड्डा सन् २००९ मा भएको विद्रोहमा पनि सहभागी थियो । त्यसैले कू गरेपछि राजोलिना सत्तामा आएका थिए ।








प्रतिक्रिया