अफगानिस्तान र पाकिस्तानबीच सीमामा भिडन्त, ५८ सैनिक मारेको तालिबानको दाबी

567
Shares

एजेन्सी । सीमामा ५८ जना पाकिस्तानी सैनिकहरूलाई मारेको अफगानिस्तानले दाबी गरेको छ । ३० जनालाई घाइते बनाएको पनि तालिबानले जनाएको अलजजीजराले समाचार दिएको छ ।

गत साता अफगानिस्तानको राजधानी काबुलमा पाकिस्तानले हवाई आक्रमण गरेपछि चर्किएको तनावका बीच दुई देशले भिडन्त गरेका हुन् ।

तालिबान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले पाकिस्तानी सेनाका थुप्रै हतियारहरू अफगान सेनाको नियन्त्रणमा आएको बताए ।


यस कारवाहीमा नौजना तालिबान सैनिकहरू मारिएको र लगभग १२ अन्य घाइते भएको मुजाहिदले जानकारी दिए ।

पाकिस्तानले सीमामा १९ वटा अफगान पोस्टहरू नियन्त्रणमा लिएको सुरक्षाकर्मीहरूलाई उद्धृत गर्दै पीटीभीले खबर दिएको छ ।

इरान, कतार र साउदी अरबले दुवै देशलाई संयम अपनाउनका लागि आग्रह गरेका छन् ।

कतार र साउदी अरबको अनुरोधमा अफगान सेनाले शनिबार राति कारवाही रोकेको मुजाहिदले बताए ।

तालिबानले कुनार र हेल्मान्द प्रान्तमा तीनवटा पाकिस्तानी सीमा चौकीहरू कब्जा गरेको दाबी पनि गरेको छ ।

पाकिस्तानी सुरक्षाबललाई उद्धृत गर्दै रेडियो पाकिस्तानले समाचार दिएअनुसार, तालिबानको मनोज्बा क्याम्प बटालियन हेडक्वार्टर, जन्दुसार पोस्ट, तुर्कमेनजाई क्याम्प र खर्चर फोर्ट पूर्ण रूपमा ध्वस्त भएका छन् । सीमानजिक रहेका सशस्त्र समूहहरूलाई सटीक निशाना लगाएर नष्ट गरिरहेको पाकिस्तानीहरूले दाबी गरेका छन् ।