
एजेन्सी । सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचाडोलाई दिइएको छ ।
पुरस्कार दिनुको कारणका रूपमा नोबेल समितिले उपयोग गरेको भाषा पुरानै लाग्छ । त्यसमा “अधिकार”, “शान्तिपूर्ण राजनीतिक संक्रमण” लगायतका कुरा परेका छन् । तर, यस पछाडिको कथा फरक छ ।
माचाडोको काम स्वैच्छिक निर्वाचन नेटवर्क बनाउनेदेखि लिएर विदेशी सहयोग लिने विवादसम्म फैलिएको छ । उनको नाम सरकार फाल्ने प्रयाससँग जोडिएका केसहरूमा पनि आएको छ । ती आरोप उनले अस्वीकार गरेकी छन् ।
कुन हदसम्मको राजनीतिक संघर्ष वैध हो र कहिले त्यो सत्तापरिवर्तनमा परिणत हुन्छ भन्ने विषयमा भेनेजुएला अझै विभाजित छ ।
यस पुरस्कारले भेनेजुएलाको आन्तरिक संघर्षलाई विश्व स्तरमा उजागर गरेको छ । यसले शान्तिको अर्थबारे पुनः बहस सुरु गराएको छ । विशेषगरी ट्रम्पलाई नोबेल दिने चर्चा वर्षभरि चलेको पृष्ठभूमिमा शान्तिको अर्थबारे बहस चलेको हो ।
मारिया कोरिना माचाडो पेशाले इन्जिनियर हुन् र पछिल्ला दुई दशकमा भेनेजुएलाको विपक्षी आन्दोलनको प्रमुख अनुहार उनै हुन् । राजधानी काराकासमा जन्मेकी उनी इस्पात उद्योग समूह सिभेन्सासँग सम्बन्धित परिवारकी हुन् । उनले भेनेजुएलाको प्रमुख व्यवस्थापन विद्यालय आन्द्रेस बेलो क्याथोलिक युनिभर्सिटीमा अध्ययन गरिन् । बाल्यकालदेखि व्यावसायिक वातावरण र बजारमुखी विचारसँग नजिक भएकी उनले उद्यमशीलता, निजीकरण र विश्व बजारसँग एकीकरणमा जोड दिइन् ।
सन् २००२ मा उनले “सुमाते” नामक नागरिक प्लेटफर्म स्थापना गरिन् । यसले निर्वाचन पर्यवेक्षण र समानान्तर मतगणनाका लागि स्वयंसेवकहरूको सञ्जाल बनायो । यही बेला पहिलो ठूलो विवाद सुरु भयो जब यस समूहले अमेरिकी संस्थाबाट सहयोग लिएको आरोप लाग्यो । माचाडोका समर्थकहरूले भने यो नागरिक कार्यका लागि लिइएको वैध सहयोग भएको जिकिर गरेका थिए । त्यसपछि उनी संलग्न भएका हरेक राजनीतिक कदममा विदेशी सहयोगको सीमा कतिसम्म हुन्छ भन्ने प्रश्न उठिरह्यो ।
यस निर्णयले भेनेजुएलालाई फेरि विश्व राजनीतिक बहसमा ल्याएको छ । अब ऊ ऊर्जाको स्रोत वा पश्चिमी प्रतिबन्धको लक्ष्यका रूपमा नभई लोकतन्त्रको अर्थ बुझाउने नमूना बनेको छ
त्यो वर्ष भेनेजुएलामा ठूलो राजनीतिक संकट आयो । राष्ट्रपति ह्युगो चाभेजलाई केही दिनको लागि हटाइएको थियो । त्यसलाई “कार्मोना डिक्री” भनियो । माचाडोको नाम पनि त्यस विवादमा आएको थियो । तर, उनले आफू त्यसमा संलग्न नरहेको बताइन् । त्यो विवाद कहिल्यै पूर्णरूपमा नटुंगिए पनि उनले सत्तापरिवर्तनको प्रतीकको छवि बनाइन् ।
सन् २००३ देखि २००५ बीच गैरसरकारी संस्थाहरूले पाएको भनिएको विदेशी सहयोगबारे अनुसन्धान भयो र कतिपयलाई यात्रा प्रतिबन्ध पनि लगाइयो । सन् २०१४ मा सडक प्रदर्शनको बीचमा माचाडो भेनेजुएला सरकारले लगाएको आरोपको मुख्य लक्ष्य बनिन् । उनीविरुद्ध राष्ट्रपतिको हत्याको प्रयास गरेको सम्मको आरोप लाग्यो जुन उनले राजनीतिक उद्देश्यले प्रेरित भन्दै अस्वीकार गरिन् । त्यसपछि उनलाई सार्वजनिक पद धारण गर्न प्रतिबन्ध लगाइयो ।

सन् २०१० दशकको मध्यतिर उनले आफ्नो राजनीतिक दल “भेन्ते भेनेजुएला” स्थापना गरिन् । उनले बजार स्वतन्त्रता, निजीकरण, लगानीमैत्री नीति र चुनावमार्फत शान्तिपूर्ण संक्रमणको पक्ष लिइन् । उनका आलोचकहरूले यसलाई बाह्य दबाब वैध बनाउने प्रयासका रूपमा लिए । उनका समर्थकहरूले भने यही एक मात्र बाटो रहेको बताए ।
सन् २०२३ मा उनी विपक्षी दलको प्राथमिक चुनावमा ठूलो मतान्तरले जितिन्, तर उम्मेदवारीमाथिको प्रतिबन्ध कायमै रह्यो । उनको टोलीमाथि छापा मार्ने र पक्राउ गर्ने कार्य बढ्यो । सन् २०२४ को सुरुमा विपक्षीहरूले कूटनीतिकर्मी एडमुन्डो गोन्जालेजलाई विकल्पका रूपमा अघि सारेको थियो । मतदानमा अनियमितता देखियो र मतगणनापछि सत्तारूढ पक्ष विजयी घोषित भयो । केही मुलुकले मतपरिणाम अस्वीकार गरे । देशभित्र भने विभाजन यथावत रह्यो । कसैका लागि माचाडो परिवर्तनको प्रतीक थिइन् भने अरूका लागि उनी सबै सीमा भत्काउने ध्वंसवादी नेत्री थिइन् ।
निर्वाचनपछि माचाडो सार्वजनिक रूपमा देखिएकी थिइनन् । उनका सन्देशहरू भिडियोमार्फत आए र उनको ठेगाना खुलाइएको थिएन । मिडियामा “भूमिगत सञ्जाल” भन्ने शब्द प्रचलनमा आयो । उनका समर्थकहरूले यसलाई दमनबीचको आन्दोलन भने । उनका विरोधीहरूले यसलाई शासनविरुद्धको विदेशी अभियान भने । यही पृष्ठभूमिमा आएको नोबेल शान्ति पुरस्कारले उनको जीवनकथालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको छ ।
नोबेल समितिले भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारका लागि अथक परिश्रम गरेको र अधिनायकवादबाट लोकतन्त्रतर्फ शान्तिपूर्ण संक्रमणका लागि संघर्ष गरेको भन्दै माचाडोलाई सम्मान गरिएको जनाएको छ ।
तर, भेनेजुएलामा यही कार्यलाई सरकारले विदेशी समर्थनमा अस्थिरता ल्याउने प्रयास भनेको छ । माचाडोका लागि यो पुरस्कार लामो समयदेखि गर्दै आएको संघर्षलाई मान्यता दिएसरह हो । भेनेजुएला सरकारका लागि यो पश्चिमी संस्थाहरूले विपक्षीलाई पुरस्कृत गरेको प्रमाण हो ।
यस निर्णयले भेनेजुएलालाई फेरि विश्व राजनीतिक बहसमा ल्याएको छ । अब ऊ ऊर्जाको स्रोत वा पश्चिमी प्रतिबन्धको लक्ष्यका रूपमा नभई लोकतन्त्रको अर्थ बुझाउने नमूना बनेको छ । “शान्तिपूर्ण संक्रमण” भन्ने ओस्लो (नोबेल शान्ति समिति) को व्याख्या अरूका लागि “सत्तापरिवर्तन”को रणनीति हुन सक्छ । त्यसैले यो पुरस्कार शान्तिभन्दा बढी राजनीति र अर्थको संघर्षमा केन्द्रित छ ।
सन् २०२५ को आरम्भदेखि वाशिङटनले काराकासप्रति कडा नीति लिएको छ । सन् २०२३ मा भएको बार्बाडोस सम्झौतापछि अमेरिकाले भेनेजुएलामाथि लगाइएको प्रतिबन्ध हटाएको थियो । तर, अहिले भेनेजुएलामाथिको ऊर्जा प्रतिबन्ध पुनः लागू गरिएको छ । त्यससँगै अमेरिकाले क्यारिबियाली क्षेत्रमा “संगठित अपराध सञ्जाल” विरुद्ध कदम चालेको घोषणा गरेको छ । यसअन्तर्गत संयुक्त जलसेना गस्ती र सूचनाको गतिविधि बढाइएको छ । त्यससलाई भेनेजुएलाले आफूमाथि दबाब दिनका लागि बनाइएको बहाना भनेको छ ।
ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका भेनेजुएलाविरुद्ध अझ आक्रामक भएको छ । ट्रम्पले यसलाई “लागूऔषधविरुद्धको युद्ध” र “क्षेत्रीय स्थायित्व” को अभियानको रूपमा प्रस्तुत गरेका छन् । धेरैले यसलाई रुस, चीन र इरानसँग भेनेजुएलाको बढ्दो सम्बन्धका बीच अमेरिकाको प्रभाव पुनःस्थापना गर्ने प्रयासका रूपमा अर्थ्याएका छन् ।
मारिया कोरिना माचाडोले भेनेजुएलाका लागूऔषध माफियाविरुद्ध अमेरिकी सैन्य आक्रमणको समर्थन गरेकी छन् । यसले उनलाई अमेरिकी नीतिसँग नजिक रहेको देखाएको छ र घरेलु तथा विदेशी राजनीतिबीच कायम हुने सीमा धमिलो बनाएको छ ।
त्यसैले नोबेल पुरस्कारले माचाडोलाई मात्र नभई अमेरिकालाई पनि सन्देश दिएको मानियो । पश्चिमी देशहरूका लागि यो लोकतान्त्रिक अधिकारको प्रतीक थियो भने काराकासका लागि यो विपक्षीलाई पश्चिमले समर्थन गरेको राजनीतिक संकेत थियो ।
वर्षभरि ट्रम्पलाई नोबेल दिनुपर्ने चर्चा चलिरहेको थियो । ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा परराष्ट्रनीतिलाई प्राथमिकता दिएका छन् र विभिन्न देशबीच भएका संघर्ष रोक्ने पहल गरेका छन् । उनका समर्थकहरूले सात ठूला कूटनीतिक सफलताहरूको सूची पेश गरेका छन् : कम्बोडिया–थाइल्यान्ड, कोसोभो–सर्बिया, कंगो–रुवान्डा, भारत–पाकिस्तान, इजरायल–इरान, इजिप्ट–इथियोपिया, र आर्मेनिया–अजरबैजानबीचका सम्झौता ।
तर, नोबेलको मनोनयन म्याद जनवरी ३१ मा सकिएकाले ट्रम्पले राष्ट्रपति बनेपछि गरेका धेरै कामलाई औपचारिक रूपमा योग्य मानिने थिएन । ट्रम्पले पुरस्कार नपाएपछि ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै नोबेल समितिले शान्तिको साटो राजनीति रोजेको जनायो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ट्रम्पले धेरैवटा दीर्घकालीन संकट हल गर्नका प्रयास गरेको बताउँछन् । नोबेल शान्तिका वास्तविक योगदानकर्तालाई मात्र नदिइने गरेको पुटिनको भनाइ छ ।

ट्रम्पका लागि यो पहिलेदेखि चलिआएको विरोधाभास हो । उनी आफूलाई “शान्तिदूत” ठान्ने गर्छन् तर विश्वले उनलाई फरक दृष्टिले हेर्ने गरेको छ ।
धेरै विश्लेषकहरूले माचाडोलाई पुरस्कार दिनु ट्रम्प र उदारवादी संस्थानबीचको प्रतिस्पर्धाको संकेत भएको बताएका छन् । “नोबेलले सधैं उदारवादी सोचलाई पुरस्कृत गर्छ,” विश्लेषक दिमित्री ड्रोब्नित्स्की भन्छन् । “ट्रम्पले समर्थन गरेको विपक्षी नेता खुवाइदो भन्दा माचाडो अमेरिकाको डेमोक्रेटिक पार्टीसँग नजिक छिन् । माचाडोलाई पुरस्कृत गरेर नोबेल समितिले ट्रम्पलाई दुईपटक प्रहार हानेको हो,” उनी थप्छन् ।
अन्य विश्लेषकहरूका अनुसार, माचाडोलाई पुरस्कृत गरेर नोबेल समितिले ट्रम्पको पूर्ण विरोध होइन । यो त सन्तुलन खोज्ने प्रयास हो । माचाडो ट्रम्पको नीतिसँग तादात्म्य राख्छिन् किनभने उनीहरू दुवैजना मदुरोविरुद्ध छन् ।
नोबेल पुरस्कार जितेपछि माचाडोले ट्रम्पसँग फोनमा कुराकानी गरेर ट्रम्पको सम्मान गर्दै पुरस्कार स्वीकार गरेको बताइन् । उनले ट्रम्प नै यस पुरस्कारको हकदार रहेको समेत भनिन् । ‘त्यसोभए मलाई नै पुरस्कार देऊ न त,’ ट्रम्पले जिस्केर भने ।
ट्रम्प फेरि पनि पछि परेको धेरैजनाको धारणा छ । नोबेल शान्ति पुरस्कार अझै पनि “उदार विश्व व्यवस्था” को प्रतीक भएकाले ट्रम्प जस्ता अनुदारवादीलाई उसले बेवास्ता गरिरहने उनीहरू बताउँछन् ।
ट्रम्पका लागि यो पहिलेदेखि चलिआएको विरोधाभास हो । उनी आफूलाई “शान्तिदूत” ठान्ने गर्छन् तर विश्वले उनलाई फरक दृष्टिले हेर्ने गरेको छ
नोबेल समितिका लागि माचाडोको नाम अधिनायकवादी व्यवस्थाविरुद्ध लड्ने अभियन्ताहरूको सूचीमा दरिएको छ । तर वाशिङटन र काराकासका लागि यसको अर्थ फरक छ ।
माचाडो समर्थकहरूका लागि यो लोकतान्त्रिक संघर्ष सफल हुँदैछ भन्ने सन्देश हो । तर, उनका आलोचकहरूका लागि यो पश्चिमी संस्थाहरूले आफ्नो राजनीतिक लाइनमा उभिनेहरूलाई दिएको पुरस्कार हो ।
नोबेल शान्तिको कथामा ट्रम्पको छायाँ अझै परिरहेको छ । उनले आफूलाई शान्तिनिर्माताको उपाधि दिएर नोबेल शान्ति पुरस्कारलाई राजनीतिक ऐना बनाएका छन् । कसले शान्तिलाई परिभाषित गर्छ र कसले भनेअनुसारको शान्ति लागू हुन्छ भन्ने कुराको प्रतिबिम्ब यस ऐनामा देखिन्छ ।
रुसी विश्लेषक फ्योदोर लुक्यानोभका अनुसार, ट्रम्प अझै पनि नोबेल शान्ति पुरस्कारका हकदार रहिरहनेछन् । उनका लागि ढोका पूर्ण रूपमा बन्द भइसकेको छैन । उनका वास्तविक वा काल्पनिक उपलब्धिहरूका कारण उनी अर्को वर्ष पनि मनोनयनमा पर्न सक्छन् । त्यसबेला नोबेल समितिले सबै कुरामा विचार गर्ने अवसर पाउनेछ ।
रुसका प्रकाशित हुने आरटी सञ्चारमाध्यममा प्रकाशित पत्रकार जर्जी बेरेजोव्स्कीको आलेखको नेपाली अनुवाद








प्रतिक्रिया