
काठमाडौं । गत भदौ २३ गतेको जेनजी आन्दोलनमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गोली चलाउँदा १९ जना युवाको मृत्यु भयो । युवा विद्यार्थीमाथि राज्यले गरेको बर्बर दमनको आक्रोशमा २४ गते जेनजीसहितका प्रदर्शनकारीले कर्फ्युका बावजुद प्रदर्शन गरे ।
संघीय संसद्, सरकारी मुख्यालय सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय, मन्त्री क्वार्टर, तीन दलका शीर्ष नेताको घरसहित देशभर कैयौं नेताको घरमा आगजनी भयो ।
काठमाडौंका विभिन्न स्थानमा आगो बल्न थालेपछि बालुवाटारमा सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक बसिरहेको थियो ।
सुरक्षा प्रमुखहरूले तत्कालीन प्रधानमन्त्री ओलीलाई सुरक्षा प्रबन्ध मिलाउन गाह्रो भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न अनुरोध गरेका थिए । तर, ओलीले लामो कुरा गर्न थालेको स्रोत जनाउँछ ।
उनले सिक्किम भारतमा विलय हुने बेलाको प्रसंग झिक्दै यसैगरी पहिला प्रहरी चौकी जलाइएको, त्यसपछि महत्त्वपूर्ण संरचना जलाइएको, जनमतसंग्रह गराएर सिक्किमलाई भारतमा विलय गराइएको कुरा गर्न थाले । नेपालमा पनि त्यसैको अभ्यास गर्न खोजिएको उनको आरोप थियो ।
उता प्रधानसेनापति अशोकराज सिग्देलको फोनमा सुरक्षा व्यवस्था बिग्रिसकेको सूचना लगातार आइरहेको थियो । उनले ओलीलाई कुरा छोट्याउन र छिटो निर्णय लिनका लागि अनुरोध गरेका थिए ।
राजीनामा नदिने अडानमा रहेका ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु देउवालाई भीडले कुटपिट गरेको खबर आएपछि चाहिँ विचलित बनायो । त्यसपछि उनी राजीनामा दिन तयार भएका थिए ।
१९ जनाको मृत्युपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्नेमा उनले त्यसलाई दबाउने नीति लिएका थिए । आक्रोशित प्रदर्शनकारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुग्ने बेलातिरमात्र उनले राजीनामा दिए ।
आन्दोलनपछि पनि राजीनामा दिन आनाकानी गर्दै प्रहरी खटाएर प्रदर्शनलाई पेल्ने रणनीति लिएका ओली २४ गते आन्दोलनकारीले बालुवाटार घेरेपछि सेनाको हेलिकप्टरमा भाग्न बाध्य भएका थिए ।
नेपाली सेनाले त्यतिबेला प्रधानमन्त्री ओलीलाई र मन्त्री क्वार्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा लगेको थियो ।
१० दिन सेनाको घेरामा लुकेपछि ओली असोज २ गते भक्तपुरको गुन्डुमा भाडाको घरमा सरेका थिए ।
ओली सेनाको ब्यारेकमै रहेको बेला उनको नाममा एउटा सन्देश जारी भएको भन्दै समाचारहरू सार्वजनिक भएको थियो जसमा ओलीले ‘शिवपुरी’ बाट लेखेको भनिएको थियो । तर, उक्त सन्देशको वैधानिकता पुष्टि हुन सकेन ।
विभिन्न सञ्चारमाध्यममा पनि ओलीलाई शिवपुरीमा राखिएको समाचारहरू सार्वजनिक भएका थिए ।
तर, ओलीलाई शिवपुरी नभइ मकवानपुरमा राखिएको पुष्टि भएको छ ।
‘त्यतिबेला सबैले केपी ओलीलाई शिवपुरीमा रहेको सेनाको ब्यारेकमा राखिएको ठानेका थिए, तर होइन,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘उहाँलाई कुलेखानी नजिकतिर राखिएको थियो ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै सिफारिस गरेर राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई नियुक्त गरेका थिए ।
जेनजी आन्दोलनपछि सुरक्षा घेरामा बसेको केही दिनपछि सार्वजनिक भएका नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत ओलीकै सिफारिसमा कार्की प्रधानमन्त्री नियुक्त भएको जनाएका छन् ।

‘धेरै जेनजीले सुशीलामाथि डिस्कोर्डमा भोट दिएपछि आवश्यकताको सिद्धान्त अनुसार उहाँलाई नियुक्ति गरिएको थियो,’ प्रचण्डले शुक्रबार सम्पादकहरूसँगको छलफलमा भनेका थिए, ‘कार्कीलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेर प्रधानमन्त्री बनाउने त ओली नै हो ।’
जेनजीले डिस्कोर्डमा दिएको मतअनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन गरिएको छलफलमा नेपाली सेनाले संयोजन गरेको थियो भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रतिनिधिको रूपमा ओमप्रकाश अर्याल पनि छलफलमा सहभागी भएका थिए, जो अहिले गृहमन्त्री छन् ।
कार्की प्रधानमन्त्री बन्ने तय भएपछि प्रधानमन्त्रीको सिफारिसमा नयाँ प्रधानमन्त्री नियुक्त गर्न उक्त सिफारिस पत्र लिन राष्ट्रपति स्वयं कुलेखानी पुगेको स्रोतको भनाइ छ ।
कार्की मन्त्रिमण्डलका एक सदस्यले राष्ट्रपति रामचन्द्र पौडेललाई उद्धृत गर्दै जनाए अनुसार ओलीको हस्ताक्षरसहितको सिफारिस पत्र लिन पौडेल स्वयं हेलिकप्टरमा गएका थिए ।
‘सरकार गठनमा विलम्ब भइरहेको थियो । बाहिर अनेक शंकाहरू देखिन थालेपछि राष्ट्रपति आफैं ओलीलाई भेट्न हेलिकप्टरमा मकवानपुर जानुभएको थियो,’ उनले भने, ‘कार्कीलाई प्रधानमन्त्री बनाउने ओलीको सिफारिस लिएर आएपछि मात्र उनलाई प्रधानमन्त्री बनाउने प्रक्रिया उहाँले सुरू गर्नु भएको हो।’
यसलाई प्रचण्डले पनि पुष्टि गरेका छन् ।
‘सेनाले हेलिकप्टरमा हालेर हेटौंडा वा अन्यत्र पुर्याएको भए पनि केपी ओली नै कामचलाउ प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको सिफारिस चाहिन्थ्यो,’ प्रचण्डले भने, ‘राष्ट्रपतिजीले प्रधानमन्त्रीलाई भेटेर सिफारिस ल्याइसक्नुभएको रहेछ ।’
राष्ट्रपति कुलेखानी पुगेर प्रधानमन्त्री ओलीलाई लिएरै आएको स्रोतको दाबी छ ।
‘सुशीलालाई प्रधानमन्त्री बनाउने सिफारिस पत्र लिएर आउँदा राष्ट्रपतिज्यूले ओलीलाई पनि सँगै ल्याउनुभएको हो,’ उनले भने ।
भदौ २७ गते राति सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ लिएकी थिइन् । जलेको शीतलनिवासको पछाडिको सानो भवनमा सपथ कार्यक्रम गरिएको थियो । यसअघि निवर्तमान पूर्वप्रधानमन्त्रीहरू सपथमा उपस्थित हुने गरेका थिए ।

तर कार्कीको सपथमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मात्र उपस्थित थिए । उनको घरमा पनि आगजनी भए पनि भट्टराई भने सपथमा उपस्थित भए । निवर्तमान प्रधानमन्त्री केपी ओली पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायत कोही पनि सपथमा थिएनन् ।
तर सपथको दिन तत्कालीन प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री प्रचण्डसहित शीतलनिवासमै रहे पनि सपथ समारोहमा उपस्थित नभएको स्रोतको दाबी छ ।







प्रतिक्रिया