पेरुमा जेनजी आन्दोलन सफल, राष्ट्रपति बोलुआर्ते पदमुक्त

1.5k
Shares

एजेन्सी । दक्षिण अमेरिकी मुलुक पेरुको संसद्ले अत्यन्तै अलोकप्रिय राष्ट्रपति डिना बोलुआर्तेलाई महाभियोग लगाएर पदमुक्त गरेको छ ।

अपराध लगातार बढिरहेकोमा त्यसलाई रोक्न नसकेपछि बोलुआर्तेप्रति जनताको आक्रोश चरमचुलीमा छ ।

सरकारले अपराध रोक्न नसकेको भन्दै महाभियोगको प्रस्ताव राखिएकोमा १३० सदस्यीय संसदमा १२४ सांसदले महाभियोगको पक्षमा मतदान गरेका थिए ।

सांसदहरूले बोलुआर्तेलाई बिहीवार मध्यरातअघि संसदमा उपस्थित हुन भनेका थिए तर उनी देखा परिनन् । त्यसपछि बोलुआर्तेमाथि महाभियोग प्रस्ताव पारित भयो ।

यसैबीच पेरुका जेनजी युवाले आन्दोलन गरिरहेका थिए । उनीहरूले तलब र निवृत्तिभरण व्यवस्थाको सुधार गर्नुपर्ने भन्दै आन्दोलन गरेका थिए ।

अपराध नघटेको स्थितिमा राजधानी लिमामा गोली चलेपछि जनता थप आक्रोशित भएका थिए ।

यसअघि पनि राष्ट्रपति बोलुआर्तेलाई हटाउनका लागि आठपटक प्रयास भएको थियो । तर, यसपालि दुईतिहाइ भन्दा बढी सांसद बोलुआर्तेको विपक्षमा उभिए ।

सन् २०२२ मा आफ्ना पूर्ववर्तीलाई महाभियोगमार्फत हटाएर बोलुआर्ते राष्ट्रपति बनेकी थिइन् ।

उनले देशमा अवैध रूपमा बसिरहेका आप्रवासीका कारण अपराध बढेको बताउँदै आएकी थिइन् ।

गत जनवरीदेखि अगस्टको मध्यसम्ममा ६ हजार ४१ मानिसको हत्या भएको आधिकारिक आँकडा छ । त्यस्तै जनवरीदेखि जुलाईसम्ममा फिरौतीका १५ हजार ९ सय ८९ घटना भएका थिए ।