हमासले बन्दी बनाएका विपिन जोशीको अवस्था अज्ञात

420
Shares

एजेन्सी । गाजामा प्यालेस्टाइनी लडाकु समूह हमासले बन्दी बनाएका मानिसलाई सोमवारसम्ममा रिहा गरिने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।

हमास र इजरायलले ट्रम्पको युद्धविराम योजनामा सहमति जनाएपछि बन्दी रिहा हुने सम्भावना बढेको हो ।

दुई वर्षअघि सन् २०२३ अक्टोबर ७ मा हमास र उसका साझेदारहरूले इजरायलबाट २५१ जनालाई अपहरण गरी गाजामा बन्दी बनाएका थिए । तीमध्ये ४८ जना अझै पनि हमासको कब्जामा छन् । कब्जामा रहेकामध्ये २० जना जीवित रहेको विश्वास गरिएको छ ।

२६ जना बन्दीको मृत्यु भइसकेको इजरायल सरकारको भनाइ छ । तर, नेपालका विपिन जोशी र इजरायली नागरिक तमिर निमरोदीको अवस्था अज्ञात छ । इजरायल सरकारले उनीहरूको अवस्थाका विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।

जीवित बन्दी सबै पुरुष भएको विश्वास गरिएको छ । एकजना बाहेक अरू सबै २० देखि ३० वर्ष उमेरका छन् । महिला, बालबालिका र ५० वर्षभन्दा माथि उमेरलाई विगतका युद्धविराम सहमति अन्तर्गत रिहा गरिएको थियो ।

मृत्यु भएका भनिएका २६ जनामध्ये एक महिला इनबार हेमानको शव गाजामै छ ।

कञ्चनपुरका विपिन जोशी दक्षिणी इजरायलमा रहेको आलुमिम भन्ने ठाउँको फार्ममा भएको बेलामा अपहरणमा परेका थिए ।

इजरायली सेनाले हालैको दिनमा गाजाबाट एउटा भिडियो बरामद गरेको थियो । त्यसमा विपिन जीवित रहेको र उनले आफ्नो नाम, देश र इजरायलमा गरिरहेको कामका बारेमा बताएको सुनिन्छ ।

त्यो भिडियो सन् २०२३ को नोभेम्बर महिनामा छायाँका गरिएको विश्वास गरिन्छ । होस्टेजेज एन्ड मिसिङ फेमिलिज फोरमले जारी गरेको विज्ञप्तिमा विपिनको परिवारले भिडियो हेरेर उनी जीवित रहेकोमा अटुट विश्वास रहेको बताए भनी उल्लेख गरेको छ ।

त्यसअघि सेप्टेम्बर २० मा हमासले विपिन जोशी सहित ४८ बन्दीहरूको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको थियो ।

जोशीबाहेक चार अन्य विदेशी नागरिकलाई गाजामा बन्दी बनाइएको छ । तीमध्ये तीनजना थाइल्यान्डका हुन् भने एकजना तान्जेनियाका हुन् ।