
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्लो क्रास्नाहोर्काइलाई दिने घोषणा गरिएको छ ।
“उनको गहिरो, कल्पनाशील र द्रष्टाभावयुक्त कृतिहरूका लागि, जसले प्रलयको डरबीच पनि कलाको शक्तिलाई पुनः पुष्टि गर्छ,” नोबेल समितिले भनेको छ ।
लेखक लास्लो क्रास्नाहोर्काईको जन्म सन् १९५४ मा हंगेरीको दक्षिणपूर्वी सानो सहर ग्युलामा, रोमानियाको सीमासमिप भएको ठाउँमा भएको थियो। यस्तै टाढाको ग्रामीण इलाकामा आधारित छ क्रास्नाहोर्काईको पहिलो उपन्यास ‘सातानतांगो’ (१९८५), जसले हंगेरीमा ठूलो साहित्यिक हलचल ल्यायो र उनलाई एकाएक प्रसिद्ध लेखक बनायो।
उपन्यासले कम्युनिज्म पतन हुनु अघिको समयको हंगेरी ग्रामीण क्षेत्रको एक त्यागिएको सामूहिक फार्ममा बस्ने गरिब बासिन्दाहरूको कथा शक्ति र संकेतपूर्ण भाषामा प्रस्तुत गर्छ। त्यहाँ मौनता र प्रतीक्षाको वातावरण छ — जबसम्म करिश्माई इरीमियास र उनका सहयोगी पेत्रिना, जसलाई सबैले मरेका ठान्थे, अचानक फर्केर आउँदैनन्। ती प्रतीक्षारत बासिन्दाहरूका लागि उनीहरू आशाका सन्देशवाहक वा अन्तिम न्यायका प्रतीकजस्ता देखिन्छन्।
पुस्तकको शीर्षकमा उल्लेख गरिएको “सातानिक” तत्व इरीमियासको धोकेबाज र कपटी व्यवहारमा झल्किन्छ — प्रभावकारी भए पनि ती छलपूर्ण हुन्छन्, जसले प्रायः सबै पात्रहरूलाई उल्झनमा पारिदिन्छ। उपन्यासका सबै पात्रहरू कुनै चमत्कारको प्रतीक्षामा छन्, तर सुरुदेखिनै पुस्तकमा राखिएको काफ्काको उक्ति “त्यो कुरा पर्खँदै गर्दा मैले नै गुमाउने रहेछु” ले त्यो आशालाई भत्काइदिन्छ। यो उपन्यासबाट सन् १९९४ मा निर्देशक बेला तारसँग सहकार्य गरेर एक अत्यन्त मौलिक चलचित्र बनाइएको थियो।
छिट्टै नै अमेरिकी समालोचक सुसान सोंटागले क्रास्नाहोर्काईलाई “समकालीन साहित्यका प्रलयका उस्ताद (master of the apocalypse)” को रूपमा अभिवादन गरिन्। यो उनको दोस्रो कृति ‘The Melancholy of Resistance’ (१९८९) पढेपछि गरिएको टिप्पणी हो। यस पुस्तकमा कार्पेथियन उपत्यकाको सानो हंगेरी सहरमा घटेको एक भयावह र ज्वरोसहितको कल्पनात्मक नाटक प्रस्तुत छ। सुरुको पृष्ठबाटै पाठकहरू — श्रीमती फ्लाउमसँगै — एक अनौठो र डरावनी आपतस्थितिमा प्रवेश गर्छन्।
अनिष्टका सङ्केतहरू सर्वत्र देखिन्छन्। सहरमा एक रहस्यमय र भयावह सर्कस आइपुग्छ, जसको मुख्य आकर्षण एउटा विशाल ह्वेलको मृत शरीर हो। यो दृश्यले हिंसा र विनाशका शक्तिहरूलाई उत्तेजित गर्छ, र सेनाले अराजकता रोक्न नसक्दा तानाशाही कब्जाको सम्भावना पैदा हुन्छ। सपना-जस्ता दृश्यहरू र विकृत पात्रचित्रण प्रयोग गर्दै क्रास्नाहोर्काईले व्यवस्था र अव्यवस्थाबीचको क्रूर संघर्षलाई अत्यन्त प्रभावशाली ढङ्गले चित्रित गर्छन्। यहाँ आतङ्कबाट कसै पनि बच्न सक्दैन।
उनको अर्को उपन्यास ‘War & War’ (१९९९) मा क्रास्नाहोर्काईले आफ्नो देशको सीमाभन्दा बाहिर दृष्टि केन्द्रित गर्छन्। यसमा विनम्र अभिलेखपाल कोरिन आफ्नो जीवनको अन्तिम कर्मको रूपमा बुडापेस्टको परिधिबाट न्युयोर्कसम्म पुग्ने निर्णय गर्छ — ताकि ऊ एकछिनका लागि भए पनि “संसारको केन्द्र” मा उपस्थित हुन सकोस्। आफ्नै देशको अभिलेखमा उसले योद्धाहरूको पुनरागमनबारेको एक असाधारण सुन्दर प्राचीन महाकाव्य फेला पारेको हुन्छ, जुन उसले विश्वलाई परिचित गराउन चाहन्छ।
यस पुस्तकसम्म आइपुग्दा क्रास्नाहोर्काईको लेखन शैली विकसित भइसकेको छ — लामो, घुमाउरा, र निरन्तर वाक्यहरूमा बग्ने गद्य, जसमा पूर्णविरामका सट्टा लयात्मक प्रवाह रहन्छ, र यही शैली अहिले उनको पहिचान (signature) बनेको छ।








प्रतिक्रिया