
एजेन्सी । चीनले ताइवान नजिक सैन्य गतिविधि बढाउन थालेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
अचानक आक्रमण गर्नका लागि चीनले आफ्नो क्षमता तिखारिरहेको ताइवानको भनाइ छ । त्यसका साथै ताइवान सरकारप्रतिको विश्वास अवमूल्यन गर्नका लागि हाइब्रिड अनलाइन वारफेयर पनि चीनले गरिरहेको बताइएको छ ।
विगत पाँच वर्षमा ताइवानले चीनबाट व्यापक दबाब खेपिरहेको छ । सन् २०२२ यता चीनले ताइवान वरपर कम्तीमा सातवटा ठूला युद्धाभ्यासहरू गरेको छ ।
‘चिनियाँ कम्युनिस्टहरूले नियमित रूपमा ग्रे जोन रणनीति अपनाइरहेका छन्,’ ताइवानको रक्षा मन्त्रालयले प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख छ, ‘त्यसका साथै उनीहरूले युद्धको तयारी अवस्थाका लागि गश्ती, लक्षित सैन्य अभ्यास र विचारधारात्मक लडाइँ गरेर ताइवानमाथि जोखिम तेर्स्याइरहेका छन् ।’
ग्रे जोन भन्नाले गैरभिडन्त कारवाही बुझिन्छ । त्यसअन्तर्गत चीनले तटरक्षकहरूको गश्ती बढाउनुका साथै समुद्रमुनिका तारमा क्षति पुर्याउने र बलुनहरू उडाउने काम गरिरहेको छ ।
चीनको तटरक्षक बलले ताइवान क्षेत्रमा गतिविधि बढाइरहेको छ । उसले आक्रमणको तयारीस्वरूप घेराबन्दी तथा रोकावटको उपायहरू अपनाउन सक्छ ।
बेइजिङले हाइब्रिड वारफेयरमार्फत ताइवान सरकारमाथि जनताको विश्वास डगमगाउनका लागि प्रयास पनि गरिरहेको छ । उसले ताइवानको साइबर सुरक्षालाई कमजोर बनाउनका लागि कृत्रिम बुद्धिमत्ता (एआई) उपयोग गरिरहेको छ । ताइवानको महत्त्वपूर्ण पूर्वाधारमा रहेका कमजोर विन्दुहरूको खोजी पनि चीनले गरिरहेको छ ।
परम्परागत तथा गैरपरम्परागत सैन्य कारवाहीमार्फत चीनले ताइवानमाथि आक्रमण गर्ने तथा विदेशी सुरक्षाबलको सामना गर्ने क्षमताको पनि परीक्षण गर्न खोजेको ताइवानको रक्षा मन्त्रालयको भनाइ छ ।
चीनले ताइवानलाई पुनरेकीकरण गर्नका लागि बलप्रयोग पनि गर्न सकिने जनाउँदै आएको छ ।








प्रतिक्रिया