
एजेन्सी । अफ्रिकी मुलुक माडगास्कारका राष्ट्रपति आन्द्री राजोलिनाले देशको समस्या समाधान गर्नका लागि एक वर्षको समय मागेका छन् ।
त्यतिन्जेल पनि समस्या कायम रहेमा आफूले राजीनामा दिने उनको भनाइ छ ।
राष्ट्रपति भवनमा आयोजित सार्वजनिक बैठकका उनले यो भनाइ राखेका हुन् । त्यसमा सहभागीहरूले राष्ट्रपतिलाई प्रश्न सोध्नुका साथै आफ्नो धारणा पनि राखेका थिए ।
माडगास्कारमा जेनजी मादा नामक आन्दोलन चलिरहेको छ । प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा मागेका छन् । उनीहरूको वार्ताको निम्तो पनि अस्वीकार गरेका छन् ।
आफूमाथि दमन गर्ने सरकारसँग कुनै वार्ता नगर्ने जेनजीहरूको भनाइ छ । उनीहरूले बिहीवारबाट नयाँ आन्दोलनको घोषणा गरेका छन् ।
राष्ट्रपति राजोलिनाले जनताको कुरा सुन्नका लागि बैठकहरूको आयोजना गर्दै आएका छन् । विरोध नभई इमान्दार संवादले मात्र समस्या समाधान गर्ने उनको भनाइ छ ।
माडगास्कारमा बिजुली जाने समस्याको समाधानका लागि राष्ट्रिय प्रसारणमा २६५ मेगावाट थप्ने आश्वासन पनि राष्ट्रपतिले दिएका छन् । अझै एक वर्ष राजधानीमा बत्ती गएमा आफूले राजीनामा दिने उनले बताए ।
लगातार बत्ती जाने र पानी नआउने समस्या भइरहेपछि गत सेप्टेम्बर २५ देखि आन्दोलन चलेको छ । भ्रष्टाचार, उच्च बेरोजगारी र महँगीका विषयमा जनताको असन्तुष्टि आन्दोलनका रूपमा विस्फोट भइरहेको छ ।
गत साता राजोलिनाले सरकार विघटन गरेका थिए । सोमवार उनले सेनाका जनरललाई प्रधानमन्त्री नियुक्त गरेका थिए । जेनजी आन्दोलनकारीहरूले त्यस नियुक्तिलाई अस्वीकार गर्दै आन्दोलन जारी रहने बताएका छन् ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूसँगको भिडन्तमा कम्तीमा २२ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।








प्रतिक्रिया