तालिबान विदेशमन्त्री पुगे दिल्ली, द्विपक्षीय र क्षेत्रीय सम्बन्धका विषयमा कुराकानी हुने

84
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएका अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्तकी बिहीवार भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।

सन् २०२१ मा अफगानिस्तानमा पुनः सत्तारोहण गरेयता तालिबानका शीर्ष नेताले गरेको यो पहिलो भारत भ्रमण हो ।

राष्ट्रसंघको सुरक्षा परिषद्ले यात्रा गर्न छुट दिएपछि मुत्तकी भारत पुगेका हुन् ।

कट्टर शत्रु पाकिस्तानलाई सन्तुलनमा राख्नका लागि भारतले तालिबान सरकारसँगको सम्पर्क गहिरो बनाएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रनधीर जायसवालले विज्ञप्ति जारी गर्दै मुत्तकीलाई न्यानो स्वागत गरेको बताए । उनीसँग द्विपक्षीय र क्षेत्रीय विषयमा कुराकानी हुने जानकारी पनि जायसवालले दिए ।

मुत्तकीले गत जनवरी महिनामा भारतका विदेशसचिव विक्रम मिस्रीसँग दुबईमा कुराकानी गरेका थिए । दिल्लीमा उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग छलफल गर्नेछन् ।

छलफलको एजेन्डा सार्वजनिक भएको छैन तर विश्लेषकहरूले व्यापार तथा सुरक्षाको विषय अग्रपंक्तिमा रहने बताएका छन् ।

भारत सरकारले तत्कालै तालिबानलाई औपचारिक मान्यता दिने सम्भावना नरहेको बताइन्छ ।

अहिले तालिबान सरकारलाई रुसले मात्र आधिकारिक मान्यता दिएको छ ।

मुत्तकीले रुसमा विभिन्न बैठकमा भाग लिएका थिए ।

भारतमा हजारौं अफगानीहरू शरण लिएर बसेका छन् । तालिबान सत्तामा फर्किएपछि त्यहाँबाट भागेका अफगानीहरू अन्य देशका साथै भारतमा पनि बसिरहेका छन् ।

नयाँ दिल्लीस्थित अफगानिस्तानको दूतावास सन् २०२३ मा बन्द भएको थियो । तर, मुम्बई र हैदराबादमा रहेका वाणिज्य दूतावासहरू सीमित सेवा दिँदै सञ्चालनमा रहेका छन् ।

काबुलमा भारतको मिशनले मानवीय सहायता दिलाउने विषयमा समन्वय गर्दै आएको छ ।