
एजेन्सी । शुक्रवार यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा हुन गइरहेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यो पुरस्कार पाउनका लागि मरिहत्ते गरिरहेको भए पनि उनलाई नदिइने सम्भावना छ ।
आफूले आठवटा युद्ध रोकेकाले नोबेल शान्ति पुरस्कारको हकदार भएको ट्रम्पको भनाइ छ । तर, नोबेल समितिले ट्रम्पलाई यस वर्षका लागि योग्य नमानेको बताइएको छ ।
अन्तर्राष्ट्रिय मामिलाविज्ञ पिटर वालेनस्टीनले यो वर्ष ट्रम्पले पुरस्कार नजित्ने एएफपी समाचार संस्थालाई बताएका छन् ।
अर्को वर्ष चाहिँ ट्रम्पले नोबेल जित्न सक्छन् । त्यतिखेरसम्म उनले सुरु गरेका पहलहरू निष्कर्षमा पुग्ने वालेनस्टीनको भनाइ छ ।
ट्रम्पले आफूलाई शान्तिनिर्माता भएको दाबी गरे पनि त्यो अतिरञ्जित भएको कतिपय विज्ञको धारणा छ । उनीहरूले ट्रम्पको पहिले अमेरिका नीतिको परिणामका विषयमा पनि चिन्ता व्यक्त गरेका छन् ।
उनका कार्यहरू नोबेल शान्ति पुरस्कारको मर्मअनुकूल नरहेको ओस्लोस्थित पिस रिसर्च इन्स्टिच्युटकी प्रमुख निना ग्रेगर बताउँछिन् ।
ट्रम्पले अमेरिकालाई विभिन्न अन्तर्राष्ट्रिय संगठन र बहुपक्षीय सन्धिबाट हटाएका छन्, साझेदार र शत्रुहरूसँग व्यापारयुद्ध गरेका छन्, डेनमार्कबाट ग्रीनल्यान्ड बलपूर्वक खोस्ने धम्की दिएका छन्, अमेरिकी शहरहरूमा नेशनल गार्डका सैनिक तैनाथ गरेका छन् र विश्वविद्यालयहरूको प्राज्ञिक स्वतन्त्रतामा प्रहार गरेका छन् ।
आफूहरूले पुरस्कारका लागि योग्य व्यक्तिको सम्पूर्ण पक्षलाई विचार गर्ने नोबेल समितिका अध्यक्ष योर्गेन वाट्ने फ्राइडनेस बताउँछन् ।
यो वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३३८ जनालाई मनोनयन गरिएको छ । मनोनयन सूचीलाई ५० वर्षसम्म सार्वजनिक गरिँदैन ।
सबै देशका हजारौं मानिसले व्यक्तिको नाम मनोनयन गर्न पाउँछन् । त्यसमा सांसद, मन्त्री, विगमा नोबेल पुरस्कार पाएका व्यक्ति, विश्वविद्यालयका प्राध्यापक र नोबेल समितिका सदस्यहरू पनि पर्छन् ।
सन् २०२४ मा जापानको निहोन हिदान्क्योले यो पुरस्कार पाएको थियो । आणविक हतियारमाथि प्रतिबन्धका लागि उक्त संस्थाले अभियान चलाउँदै आएको छ ।
यो वर्ष विभिन्न नामहरू चर्चामा छन् ।
सुडानको इमर्जेन्सी रेस्पोन्स रुम्स नामक संस्थाका स्वयंसेवीहरूले त्यो देशमा भइरहेको युद्ध र भोकमरीका दौरान ज्यान जोखिममा राखेर मानिसलाई खाना खुवाउने र सहयोग गर्ने गरिरहेका छन् । संस्थाले नोबेल पाउने सम्भावना उच्च छ ।
त्यस्तै रुस सरकारका विरोधी अलेक्सी नभाल्नीकी पत्नी युलिया नभालनायाको पनि चर्चा छ ।
अफिस फर डेमोक्रेटिक इन्स्टिच्युशन्स एन्ड ह्युमन राइट्स नामक संस्था पनि अग्रपंक्तिमा रहेको बताइन्छ ।
ट्रम्पका पूर्ववर्ती राष्ट्रपति बाराक ओबामाले केही नगरिकनै नोबेल शान्ति पुरस्कार पाएका थिए । युद्ध रोक्ने ठोस काम गरेकाले आफू पुरस्कारका लागि हकदार भएको ट्रम्पको दाबी छ । तर, उनले पाउने सम्भावना न्यून छ ।








प्रतिक्रिया