प्रि-ओपनमा २६ अंकले बढ्यो नेप्से

21
Shares

काठमाडौं । प्रिओपन सेसनमै सेयर बजार २६ अंकले बढेको छ । बिहीबार प्रिओपन सेसनमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१३ अंकले बढेर २५८५.७२ बिन्दुमा पुगेका छ ।

प्रिओपन सेसनमा १०७ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको घटेको छ । यस्तै, चार कम्पनीको सेयर मूल्य भने स्थिर छ ।अघिल्लो कारोबार दिन बुधबार नेप्से ४५.३६ अंक र मंगलबार ५८.५५ अंकले घटेको थियो ।

बुधबार मात्रै नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको २५ करोडको सीमा खारेज गरेको थियो । राष्ट्र बैंकले सेयर धितो कर्जामा एक बैंकबाट ४ करोड र सबै बैंकबाट १२ करोडको कर्जा सीमा तोकेर पछि त्यसमा संशोधन गर्दै एकै बैंकबाट १२ करोड लिन सक्ने व्यवस्था पनि गरेको थियो ।

पछि संस्थागतको सीमा बढाउँदै खारेज गर्यो भने व्यक्तिगतर्फ २५ करोडको सीमा राखेकोमा बुधबार त्यसलाई पनि खारेज गरेको हो ।

यस्तै बैंक तथा वित्तिय संस्थाले पनि सेयर कारोबार गर्न सक्ने व्यवस्थामा केही लचकता अपनाएको छ । यसअघि १ वर्ष वा सोभन्दा बढी अवधिको लागि मात्रै सेयर वा ऋणपत्रमा लगानी गर्न पाइने व्यवस्थामा केही लचिलो बनेको हो । अब बैंकहरूले पनि ६ महिना वा सोभन्दा बढी अवधिको लागि सेयर र ऋणपत्रको दोस्रो बजारमा पनि लगानी गर्न सक्ने भएका छन् ।

यसरी गरेको लगानी ६ महिन भन्दा बढीको भएपछि एकसाथ जति पनि बिक्री गर्न पाउने भएका छन् । यसअघि १ वर्ष पुगेपछि पनि प्राथमिक पुँजीको २० प्रतिशत मात्रै बेच्न पाउने व्यवस्था थियो ।

जसले बैंकहरूसँग अधिक तरलता भएको अवस्थामा पनि सेयर कारोबार गर्न पाएका थिएनन् । तर, अब भने ६ महिना वा सो भन्दा बढी अवधि होल्ड गर्ने गरी बैंकहरूले पनि सेयर ट्रेडिङ गर्न पाउने व्यवस्था गरिएको छ ।