
एजेन्सी । अमेरिकी संसद् भवन क्यापिटलमा सबै भ्रमण बन्द भएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधिसभा) बन्द छ भने सरकारी कामकाज पुनः सुरु गर्ने प्रस्तावमा सिनेटमा बारम्बार मतदान भए पनि समाधान निस्केको छैन ।
राष्ट्रपति डोनल्ड ट्रम्पले सरकारी कर्मचारीहरूलाई सामूहिक रूपमा निकाल्ने र बाँकीलाई तलब नदिने धम्की दिएका छन् ।
सरकारी कामकाज ठप्प (शटडाउन) दोस्रो हप्तामा प्रवेश गर्दा अझै समाधानको कुनै स्पष्ट संकेत छैन ।
‘तपाईंले वार्ता गर्नैपर्छ,’ भरमन्ट राज्यका स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले साँझ ढिलोसम्म बसेको सिनेट बैठकमा भने, ‘वार्ता गरेर मात्रै काम बन्छ ।’
तर, सार्वजनिक रूपमा अहिलेसम्म कुनै वार्ता सुरु भएको छैन ।
कांग्रेसमा बहुमतमा रहेका रिपब्लिकन नेताहरूले आफूहरू राजनीतिक रूपमा बलियो स्थितिमा रहेको ठानेका छन् । उनीहरू डेमोक्य्राटहरूले माग गरेको स्वास्थ्य बीमा अनुदानको तत्काल वित्तीय स्वीकृति रोक्दै सरकार पुनः खोल्ने योजनामा अडिग छन् ।
तर डेमोक्य्राटहरू टसमस भएका छैनन् । उनीहरू जनता आफ्नो पक्षमा आउने विश्वास गरिरहेका छन् किनभने उनीहरू स्वास्थ्य बीमा दरमा लगानीका लागि लडिरहेका छन् । उनीहरू शटडाउनका लागि ट्रम्पलाई दोष दिइरहेका छन् ।
भित्रभित्रै भने केही असहजता देखिन थालेको छ ।
रिपब्लिकन र डेमोक्य्राटिक दुवै दलका कतिपय सिनेटरहरू स्वास्थ्य बीमा समस्याको समाधानबारे विभिन्न विकल्पमा छलफल गरिरहेका छन् । मेन राज्यकी सिनेटर सुसन कोलिन्सले आफ्नो प्रस्ताव पनि प्रस्तुत गरेकी छन् ।
रिपब्लिकन पार्टीका दुई चर्चित नेता, जर्जियाकी प्रतिनिधि मार्जरी टेलर ग्रिन र मिजुरीका सिनेटर जोश हाउलीले स्वास्थ्य बीमा दर वृद्धि रोक्न केही गर्नैपर्ने बताएका छन् ।
ट्रम्प स्वयंले पनि डेमोक्य्राटहरूसँग वार्ता गर्न तयार रहेको संकेत दिएका छन् । यसै हप्ताको सुरुमा उनले जनतालाई उत्तम स्वास्थ्य सेवा आवश्यक रहेको भन्दै वार्ता सुरु भएको बताए । तर, केही घण्टापछि नै उनले शटडाउन हट्नुपर्ने बताएका थिए ।
‘मैले हिजो राष्ट्रपति ट्रम्पसँग यसै विषयमा लामो कुरा गरें,’ प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले सोमवारको वार्ता स्मरण गर्दै भने, ‘हो, उनी समस्याको समाधान चाहन्छन् ।’
विवादित स्वास्थ्य बीमा ऐन (अफोर्डेबल केयर एक्ट — ओबामाकेयर) यस विवादको केन्द्रमा छ । त्यसलाई ट्रम्पले पहिलो कार्यकालमा खारेज गर्न खोजे पनि असफल भएका थिए ।
कोभिड–१९ महामारीका बेला काँग्रेसले यो ऐनअन्तर्गत निजी स्वास्थ्य बीमा किन्नेलाई दिने संघीय अनुदान बढाएको थियो । यो स्वास्थ्य सहायता कार्यक्रम लोकप्रिय भयो । यसको सदस्यता २४ लाख पुगेको थियो । अब यो अनुदान यो वर्षको अन्त्यमा समाप्त हुँदैछ ।
रिपब्लिकनहरू भन्छन्— स्वास्थ्य बीमा सम्बन्धी समस्या पछि समाधान गर्न सकिन्छ । तर डेमोक्य्राटहरू अहिले नै त्यससम्बन्धी कदम चाल्न चाहन्छन् किनभने जनताले नयाँ वर्षका लागि बीमा दर बढेको सूचना पाउन थालेका छन् ।
सिनेटका बहुमत नेता (मेजोरिटी लिडर) दक्षिण डकोटाका रिपब्लिकन जोन थ्यूनले भने, ‘सरकार खुलेपछि वार्ता गर्न सकिने सम्भावना छ ।’ सभामुख जोन्सनले पनि त्यसबारे छलफल गर्ने योजना बनाएको बताए ।
तर डेमोक्य्राटहरू भन्छन्— रिपब्लिकनहरूले स्वास्थ्य बीमा अनुदानको म्याद सकिने समस्यालाई यसै वर्षको गर्मी महिनामा समाधान गर्न सकेनन् जबकि उनीहरूले ट्रम्पको मुख्य विधेयक “वन बिग ब्यूटिफुल बिल एक्ट” पास गर्न सहयोग गरेका थिए ।
सभामुख जोन्सनले प्रतिनिधिसभा बन्द राखेर सांसदहरूलाई आफ्ना क्षेत्रमा पठाएपछि रिपब्लिकनहरू छिट्टै फर्केर यो समस्या समाधानमा जुट्ने कुरामा डेमोक्य्राटहरूलाई विश्वास छैन ।
न्युयोर्कका डेमोक्य्राटिक नेता हकीम जेफ्रीजले भने, ‘दशौं लाख मानिसको स्वास्थ्य बीमा खर्च अत्यधिक बढ्न लागेको छ — यो संसारकै धनी देशमा कसरी स्वीकार्य हुन सक्छ ?’
उनले थपे, रिपब्लिकन पार्टीका कारण अमेरिकी जनताले स्वास्थ्य संकटको सामना गर्दैछन् र पार्टीका मान्छेहरू भने बिदामा छन् ।
शटडाउनका बेला कर्मचारीहरूले तलब गुमाउनु सामान्य भए पनि यसपटक ट्रम्पले शटडाउन खुलेपछि तलब फिर्ता दिने प्रावधान नै हटाउने धम्की दिएका छन् ।
यो परम्पराबाट ठूलो विचलन हुनेछ । रस भटको नेतृत्वमा रहेको ह्वाइट हाउसको बजेट कार्यालयका अनुसार, कानुनले स्वतः तलब फिर्ता गर्न अनुमति दिएको छैन र त्यसका लागि काँग्रेसको स्वीकृति चाहिन्छ ।
स्वास्थ्य बीमा समस्या समाधान नगरी प्रतिनिधिसभाले पास गरेको सरकारी बजेट प्रस्तावमा डेमोक्य्राट सिनेटरहरूलाई समर्थन गराउने थ्यूनको रणनीतिक प्रयास असफल भएको छ ।
वास्तवमा, दुवै पक्ष झन् झन् टाढिएका छन् । मेन राज्यका स्वतन्त्र सिनेटर एंगस किङले पहिलेपहिले रिपब्लिकनहरूसँगै सरकारी बजेटमा मतदान गरेका थिए । तर, उनी अब पक्ष परिवर्तन गरी राम्रो सम्झौताको माग गरिरहेका डेमोक्य्राटहरूसँग जोडिने सोचमा छन् ।
सिनेटले बुधवार फेरि पनि प्रतिनिधिसभाको प्रस्तावलाई अघि बढाउने प्रयास गर्ने अपेक्षा गरिएको छ । तर, त्यो पनि असफल हुने सम्भावना छ ।
दुवै पक्षले आफूहरू सही रहेको दाबी गर्दै आफ्नो अडान सुदृढ बनाएका छन् किनभने उनीहरूको आन्तरिक सर्वेक्षणले पनि त्यही देखाउँछ ।
सिनेट डेमोक्य्राटहरूलाई जनतामाझ स्वास्थ्य बीमासम्बन्धी सन्देश राम्रोसँग पुगेको जानकारी छ । सिनेट मेजोरिटी प्याकको मेमो मंगलवार प्रतिनिधिसभा र देशभरका अभियान टोलीहरूकहाँ पठाइएको छ । त्यसमा अडान नछोड्नका लागि स्पष्ट निर्देशन छ ।
रिपब्लिकनमाथिको दबाब हटाउनु गल्ती हुने मेमोमा उल्लेख गरिएको छ ।
उता, रिपब्लिकनहरूले पनि आफ्नै योजना अघि बढाइरहेका छन् । प्रतिनिधिसभाको रिपब्लिकन अभियान शाखाले आफ्ना उम्मेदवारहरूलाई शटडाउनको आर्थिक प्रभावबारे जोड दिन र हरेक क्षेत्रका जनतामाथि त्यसको असर देखाउन सुझाव दिएको छ ।








प्रतिक्रिया