
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलासँग भइरहेको कूटनीतिक वार्ता रोकेका छन् ।
उनले विशेषदूत रिचार्ड ग्रेनेललाई सबै प्रयासहरू रोक्न निर्देशन दिएका छन् ।
द न्युयोर्क टाइम्सका अनुसार, भेनेजुएला नजिक अमेरिकी सेनाले लागूऔषध बोकेको भनिएका डुंगामा आक्रमण गरिरहेको सन्दर्भमा कूटनीतिक वार्ता रोकेर ट्रम्पले भेनेजुएलाका विरुद्ध युद्ध गर्ने संकेत दिएका छन् ।
लागूऔषध तस्करहरूका विरुद्ध अमेरिकाले गैरअन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्व गरिरहेको ट्रम्पको भनाइ छ ।
ट्रम्पले भेनेजुएलाको भूमिमा आक्रमणका लागि विचार गरिरहेको भए पनि उनी त्यसमा सुनिश्चित भइसकेका छैनन् ।
गत बिहीवार ग्रेनेललाई ओभल अफिसमा भेटेर ट्रम्पले वरिष्ठ सैन्य अधिकृतहरूको बैठकमा कूटनीतिक वार्ता अन्त्य गर्ने सन्देश दिएका हुन् ।
अमेरिकाले लागूऔषध बोकेका जहाजमा आक्रमण गरेर तिनलाई अमेरिका आउन रोकेको र अब अमेरिकाले जमिनमा खोजतलाश गर्न थाल्नुपर्ने ट्रम्पको भनाइ छ । तर, यसको विस्तृत विवरण ह्वाइट हाउसले उपलब्ध गराएको छैन ।
ट्रम्पले दोस्रो कार्यकाल चलाउन थालेदेखि अमेरिका र भेनेजुएलाको तनाव बढेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देशमा लागूऔषध उत्पादन नहुने दाबी गरेका छन् । ट्रम्प चाहिँ मदुरोलाई पदबाट हटाउन चाहन्छन् ।
गत अगस्त महिनामा अमेरिकाले मदुरोको पक्राउका लागि सूचना उपलब्ध गराउने व्यक्तिलाई ५ करोड डलरको इनाम घोषणा गरेको थियो । मदुरोले लागूऔषध तस्कर र आपराधिक समूहलाई प्रोत्साहन गरेको ट्रम्पको आरोप छ । मदुरोले यी आरोपहरूको खण्डन गरेका छन् ।







प्रतिक्रिया