
एजेन्सी । अल्बानियाको राजधानी तिरानास्थित उच्च अदालतमा इजलास बसेकै बेलामा एकजना व्यक्तिले न्यायाधीशमाथि गोली प्रहार गरी हत्या गरेका छन् ।
न्यायाधीश आस्त्रित कलाजालाई अस्पताल लगिँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरजग्गासम्बन्धी मुद्दाको सुनुवाइ चलिरहेकोमा एल्भिस शकेम्बी नामक व्यक्तिले न्यायाधीशमाथि गोली प्रहार गरेका थिए । घटनामा अन्य दुईजनालाई पनि गोली लागेको थियो तर उनीहरू खतरामुक्त छन् ।
३० वर्षीय शकेम्बीलाई प्रहरीले पक्राउ गरेको छ ।
अल्बानियाका प्रधानमन्त्री एदी रामाले न्यायाधीश कलाजाको परिवारलाई समवेदना दिएका छन् । उनले देशका सबै अदालतमा सुरक्षा प्रबन्ध थप बलियो बनाउन र अवैध रूपमा हतियार बोक्ने व्यक्तिहरूमाथि कठोर सजायको व्यवस्था गर्न आह्वान गरेका छन् ।
मुद्दा हार्ने छाँट देखेपछि शकेम्बीले न्यायाधीशमाथि गोली प्रहार गरेका थिए ।
शकेम्बीका काका र अदालतका सुरक्षागार्डलाई पनि पक्राउ गरिएको छ ।
न्यायाधीश बन्नुअघि कलाजाले ३० वर्षभन्दा बढी समय वकालत गरेका थिए । सुरुमा जिल्ला अदालतमा रहेका उनलाई सन् २०१९ मा तिरानाको उच्च अदालतमा नियुक्त गरिएको थियो ।







प्रतिक्रिया