
विराटनगर । तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढीले सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा करोडौंको क्षति पुगेको सम्बन्धित उद्योगी व्यवसायीले दाबी गरेका छन् । उद्योगमा बाढी पस्दा यो करिडोरका दुई दर्जन बढी उद्योगको उत्पादन प्रभावित भएको छ ।
बाढीले खास गरेर औद्योगिक क्षेत्रको सुनसरी खण्डमा पर्ने दुहबी, सोनापुर तथा मोरङ खण्डको हात्तिमुढा, कटहरी र रानी क्षेत्रको औद्योगिक करिडोरमा बढी नोक्सान गरेको पाइएको छ ।
परेको पानीले निकास नपाइरहेको समयमा आसपासका खोलाको बाढी उद्योगभित्र पस्दा सुनसरी-मोरङ औद्योगिक करिडोरका दुई दर्जन बढी उद्योगहरू प्रभावित बनेका छन् । पानीले उत्पादन र मेसिनमा क्षति पुग्दा कम्तीमा ५० करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको मोरङ उद्योग वाणिज्य सङ्घका महानिर्देशक कृष्ण रेग्मीको भनाइ छ ।
दुहबी नगरपालिका-८ मा रहेको आरके गोल्छा समूहको अरिहन्त मल्टिफाइबर्समा टेंग्रा खोलाको बाढी पसेको छ । खोलाले उद्योगको ७० मिटर लामो पर्खाल लडाएर बाढी उद्योगभित्र पसेको हो । उद्योगभित्र पसेको बाढीले जुट, उत्पादन सामग्री र मेसिनहरूमा समेत क्षति पुगेको छ । अरिहन्त मल्टिफाइबर्सका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईंका अनुसार बाढीले वितण्डा मच्चाउँदा उद्योगका कच्चा पदार्थ, फिनिस गुड्स र मेसिनरीमा समेत कम्तीमा ३० करोडको क्षति पुगेको छ । ४ हजारभन्दा बढी मजदुरले दैनिक तीन सिफ्टमा काम गर्ने उद्योग पूर्ण रूपमा बन्द भएको छ । यो उद्योगले दैनिक ८५ टन जुटका सामग्री उत्पादन गर्दै आएको छ ।
दुहबी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिम्सिनाका अनुसार तीन दिनदेखिको अविरल वर्षाका कारण धेरै उद्योगभित्र पानी पसेको जानकारी आएको छ । दुहबी-८ मा रहेको अरिहन्त मल्टिफाइवर्स उद्योगमा टेंग्रा खोलाले ७० मिटर पर्खाल भत्काएर उद्योगभित्र प्रवेश गरी ठूलो क्षति गरेको जानकारी दिए । त्यसैगरी दुहबीकै क्वालिटी बिस्कुट, पशुपति सिमप्याक, प्रगती टेक्सटाइल, बाबा मैदा मिल, हुलास वायरलगायतका उद्योगहरूमा पानी पसेका कारण उत्पादन प्रभावित हुन पुगेको छ ।
सुनसरी-मोरङ औद्योगिक करिडोरको अलावा मोरङको कटहरी गाउँपालिका भित्र रहेका उद्योगहरू समेत अविरल वर्षातको पानीले डुबानमा परेका छन् । कटहरीका उद्योगभित्र जुडी र लोहन्द्रा खोलाको बाढी पसेर औद्योगिक उत्पादनमा क्षति पुर्याएको पाइएको रेग्मीले बताए । विराटनगर-भद्रपुर-गलगलिया हुलाकी सडक खण्डमा पर्ने कटहरी औद्योगिक करिडोरका उद्योगहरूको बेसभन्दा चार फिट उचाइमा सडक निर्माण भएपछि पानीले निकास नपाइरहेको बेला नजिकका खोलाको बाढी पसेपछि उद्योगहरू डुबेका कावरा समूहका सञ्चालक नवलकिशोर कावराले बताए ।
कटहरी करिडोरमा झण्डै दुई दर्जन उद्योगहरू डुबानमा परेका छन् । विगतका हरेक वर्ष बाढीमा डुबानमा पर्दै आएको सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिलले भने यो पटक बाढी पस्नु अघिनै सतर्कता अपनाएको कारण कुनै क्षति व्यहोर्नु परेन । रिलायन्सका महाप्रबन्धक महेश पोखरेलका अनुसार यो पटक बाढी आउनु पूर्व नै सतर्कता अपनाएकाले गोदाम र मेसिनरी भएको क्षेत्रलाई जोगाउन सफल भयौं । दशैं बिदाको कारण मिल पूर्ण रूपमा सञ्चालनमा नआएकाले पनि धेरै क्षति हुनबाट जोगिएको हो ।
हुलास वायरका लेखा अधिकृत आशुतोष यादवका अनुसार उद्योगको बाहिर पुरै पानी जमेको छ । ‘केही क्षेत्रबाट पानी उद्योगमा छिरिरहेकाले मोल्डिङ प्लान्टभित्र पम्पिङ सेट लगाएर पानी बाहिर फालिरहेका छौं,’ यादवले भने ।
वर्षा कम भएसँगै यस क्षेत्रका उद्योगहरूको पानी पनि सुक्न थालेको सम्बन्धित उद्योगीहरूले जनाएका छन् ।
धरान-विराटनगर-कोशी मार्गको सडक छ लेनको बनेपछि सडक अग्लो र उद्योगको बेस होचो हुँदा यस क्षेत्रका हरेक उद्योग सामान्य वर्षामा पनि डुबानमा पर्दै आएका छन् । सडक बनेपनि पानीको निकास नहुँदा यो मार्गको आसपासमा रहेका उद्योग डुबानमा पर्दै आएका छन् । सरकारले औद्योगिक करिडोरको मान्यता दिए पनि पूर्वाधार विकासमा कन्जुस्याइँ गरेको कारण उद्योगहरू हरेक वर्ष बाढी र डुबानको शिकार हुनुपरेको उद्योगीहरूको गुनासो छ ।
त्यसैगरी केशलिया खोलाको बाढी पसेर रानी क्षेत्रका उद्योग डुबानमा परेका छन् । त्यस क्षेत्रका उद्योगमा अहिले पनि घुँडासम्म पानी छ ।
मोरङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साहका अनुसार रानी क्षेत्रमा पानीको निकास नै छैन । त्यसमाथि पनि केशलिया खोलाको बाढी वस्ती र उद्योगमा पस्दा औद्योगिक उत्पादन चौपट भएको छ । विराटनगरका पिचरा, रानी र दरैया वस्तिका ५ सयभन्दा बढी घर पनि डुबानमा परेका छन् ।
शनिबारदेखि परेको वर्षासँगै आएको बाढीले सुनसरी-मोरङ औद्योगिक करिडोरका दुई दर्जनभन्दा बढी उद्योग डुबानमा पर्दा ५० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वरिष्ठ उपाध्यक्ष साहका अनुसार बाढीले सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा ५० करोडभन्दा बढीको क्षति पुगेको प्रारम्भिक आकलन भए पनि उद्योगहरूको स्थलगत अध्ययनपछि क्षतिको वास्तविक विवरण आउनेछ ।







प्रतिक्रिया