
विराटनगर । शनिबार र आइतबार आएको अविरल वर्षासँगैको बाढी र पहिरोमा परेर इलाममा मात्र आइतबार अपराह्नसम्म ३७ जनाको ज्यान गएको पुष्टि भएको छ ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले हालसम्म ३७ जनाको मृत्यु भएको पुष्टि गर्दै एक जना बेपत्ता भएको क्लिकमान्डुलाई जानकारी दिइन्।
उनका अनुसार हालसम्म सेनाको हेलिकप्टरले दुई जनाको उद्धार गरेको छ भने सन्दकपुरका पाँच जनालाई खराब मौसमका कारण उद्धार गर्न सकिएको छैन ।
खराब मौसमका कारण सन्दकपुरमा हेलिकप्टर अवतरण गर्न नसक्दा घाइते पाँच जनाको उद्धार हुन सकेको छैन।
प्रजिअ नेपालका अनुसार सन्दकपुर गाउँपालिकामा ६ जना, माइजोगमाइ गाउँपालिकामा ८ जना, माङसेबुङमा ३ जना, देउमाइ नगरपालिकामा ८ जना, इलाम नगरपालिका–६ मा ६ जना, सूर्यदय नगरपालिका–१ मा ५ जना र फाकफोकथुम गाउँपालिकामा पहिरोले पुरिएर १ जनाको ज्यान गएको छ।
हालसम्म पहिरोमा परेर एक जना बेपत्ता भएका छन्। प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सम्बन्धित घटनास्थलमा पुग्न नसक्दा क्षतिको विवरण पूर्ण रूपमा आउन सकेको छैन। उनका अनुसार पहिरोले दर्जनौं घर क्षतिग्रस्त भएका छन् ।







प्रतिक्रिया