जापानमा पहिलो महिला प्रधानमन्त्री बन्दै, दक्षिणपन्थी ताकाइचीले शासन सम्हाल्ने

252
Shares

एजेन्सी । जापान पहिलो महिला प्रधानमन्त्रीको स्वागत गर्न तयार भएको छ ।

सानाए ताकाइचीले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को संसदीय दलको नेता पदमा विजय हासिल गरेकी छन् । यस विजयले उनलाई देशको नयाँ प्रधानमन्त्रीका रूपमा स्थापित हुने बाटो खोलिदिन्छ ।

ताकाइची दक्षिणपन्थी राजनीतिकर्मी हुन् । उनी अन्तर्राष्ट्रिय मञ्चहरूमा शक्तिशाली र समृद्ध जापान निर्माण गर्ने अभिव्यक्ति दिने गर्छिन् । बेलायतकी आइरन लेडी भनेर चिनिने मार्गरेट थ्याचरप्रति उनी श्रद्धा व्यक्त गर्छिन् ।

शनिवार राजधानी टोक्योमा सत्तारूढ एलडीपी केन्द्रीय कार्यालयमा भएको दोस्रो चरणको निर्वाचनमा उदारवादी प्रतिद्वन्द्वी शिन्जिरो कोइजुमीलाई उनले पराजित गरिन् ।

तत्कालीन प्रधानमन्त्री शिगेरु इशिबाले एक वर्षे कार्यकाल चलाएर राजीनामा दिएपछि पार्टीको निर्वाचन भएको थियो ।

उदारवादी नेता इशिबा गत वर्षको निर्वाचनमा विजयी हुँदा पार्टीको दक्षिणपन्थी धारका नेताहरू रिसाएका थिए । उनले नयाँ एलडीपीको नेतृत्वका लागि उत्तराधिकारी खोज्ने समय आएको बताए ।

विगत एक वर्षमा दुईपटक निर्वाचन बेहोरेको एलडीपीका लागि ६४ वर्षीया ताकाइचीले उत्तराधिकार सम्हाल्ने भएकी छन् ।
सबैले मिलेर एलडीपीलाई पुनर्निर्माण गर्नुपर्ने उनले बताइन् ।

एलडीपी नेतृत्वको गठबन्धनले संसदमा बहुमत गुमाइसकेको भए पनि ताकाइचीलाई विश्वासको मत प्राप्त हुने अपेक्षा छ ।

उनलाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि विपक्षी दलहरूले आफ्नो उम्मेदवारलाई जिताउन लगभग असम्भव रहेको बताइन्छ ।
शनिवारको मतदानलाई विश्लेषकहरूले एलडीपीको भविष्यका लागि लडाइँको रूपमा वर्णन गरेका छन् । विगत सात दशकमा एलडीपीले जापानको शासनमा लगभग एकाधिकार जमाएको छ ।

तर, यसको प्रभुत्वलाई लामो समयदेखि चलिआएको घोटालाले गम्भीर रूपमा हल्लाएको छ । दर्जनौं सांसदहरूले पार्टीको पैसा दुरुपयोग गरेको आरोप छ ।

परराष्ट्र मामिलामा कठोर दृष्टिकोण राख्ने ताकाइचीले पूर्वी एसियामा विद्यमान अस्थिर सुरक्षा वातावरणको पनि सामना गर्नुपर्ने हुन्छ । चीन, रुस र उत्तर कोरिया सहितको गैरपश्चिमी गठबन्धनको उदय भइरहेको छ । त्यस्तै डोनल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाले जापानसँगको आर्थिक सम्बन्धलाई पुनर्लेखन गरेको छ । यी सबैलाई सम्हाल्न ताकाइचीले निकै मेहनत गर्नुपर्ने हुन्छ ।