ट्रम्पका ज्वाइँ र विशेषदूत गाजा युद्धविराम वार्ताका लागि पुगे इजिप्ट

371
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुशनर र विशेषदूत स्टिभ विटकोफ गाजामा युद्धविराम गराउने वार्ताका लागि इजिप्ट गएको ह्वाइट हाउसले जनाएको छ ।

हमासले बन्दी बनाएका व्यक्तिहरूलाई रिहा गर्ने सम्बन्धी प्राविधिक विवरणलाई अन्तिम रूप दिन र दीर्घकालीन सम्झौताको बारेमा छलफल गर्न उनीहरू त्यहाँ गएका हुन् ।

विगत दुई वर्षदेखि चलिरहेको युद्ध रोक्नका लागि ट्रम्पले गरेको शान्ति योजना प्रस्तावअन्तर्गत बन्दी मुक्त गर्न हमासले सहमति जनाएको हो । सहमतिको निकै नजिक पुगेको ट्रम्पले बताएका छन् ।

इजिप्टमा इजरायल र हमासका प्रतिनिधिहरू पनि बन्दी साटासाटको कुराकानी पनि गर्नेछन् । इजरायली बन्दीलाई प्यालेस्टाइनी कैदीहरूसँग साटासाट गर्ने योजना रहेको इजिप्टको विदेश मन्त्रालयले जनाएको छ ।

यसैबीच इजरायलले शनिवार गरेको आक्रमणमा परी १७ जना प्यालेस्टाइनीहरूको मृत्यु भएको छ । मर्नेमा अधिकांश महिला तथा बालबालिका छन् ।