अपडेट : तमोर करिडोरमा बोलेरो जीप दुर्घटनामा परी ६ जनाको मृत्यु, ६ जना घाइते

777
Shares

काठमाडौं । पाँचथरको कुम्यायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडकखण्डमा बलेरो पिकअप जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दिपक पोखरेलका अनुसार पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो तमोर नदी किनारमा करिब ४०० मिटर तल खसेको हो ।

६ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । मृतकहरूको पहिचान अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म सात जना घाइतेलाई उद्धार गरिएको छ । उनीहरुमध्ये छ जना घाइतेलाई एम्बुलेन्समार्फत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) लगिएको छ भने एक जनालाई फिदिम अस्पताल, पाँचथर पठाइएको छ ।

घटनास्थल पहाडी बाटोको मोड र भिरालो क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको प्रहरी स्रोतले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धानमा सडक साँघुरो र ओरालो भागमा नियन्त्रण गुम्दा गाडी खसेको बताइएको छ ।