नागढुंगाबाट काठमाडौं फर्काइयो गाडीहरु, लामो दूरीको सवारी साधन तीन दिनको लागि रोक

350
Shares

काठमाडौं । प्रहरीले माइकिङ गरेपछि काठमाडौंबाट बाहिरिन लागेका लामो र छोटो दूरीका सवारी साधन नागढुंगा चेकपोष्टबाट फर्केका छन् ।

प्रहरीले बिहान माइकिङ गरेर धादिङतर्फ पहिरो खसेकाले उक्त पहिरो तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न माइकिङ गरेर सवारी चालकहरुलाई आग्रह गरेको थियो । त्यसपछि काठमाडौं उपत्यकाबाट नागढुंगा चेकपोस्ट पुगेका सवारी साधनहरु काठमाडौं फर्कन थालेका हुन् ।

नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान करिब १० बजेसम्म करिब २ सय ९० वटा सवारी साधनहरु काठमाडौं फर्किसकेका छन् ।

शनिबार बिहानबाटै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गरिरहेको छ । ट्राफिक प्रहरीले अगाडि बढ्न नदिई काठमाडौं फर्कन गरेको सोही अनुरोधलाई मान्दै यात्रुहरु फर्किन थालेका हुन् ।

अनुरोध मानेर गाडी चालक र यात्रुहरु फर्किएकोमा प्रहरीले कृतज्ञता व्यक्त गरेको छ ।

काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरुले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् । नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन उनीहरुले भनिरहेका छन् ।

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंबाट बाहिरिने र बाहिरी जिल्लाबाट भित्रिने लामो दूरीका सवारी साधनको आवत जावतमा रोक लगाएको छ ।

प्राधिकरणले भारी वर्षा र अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिररो र डुवान तथा आउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका(काठमाडौ भित्रिने र काठमाडौंबाट बाहिरिने) सवारी साधनमा शुक्रबारदेखि सोमबारसम्मका लागि रोक लगाएको छ ।

यो अवधीमा यातायात व्यवसायीले अत्यावश्यक बाहेक लामो दूरीमा सवारी साधन सञ्चालन नगर्न र नगराउन आग्रह गर्दै प्राधिकरणले यो बिषयमा जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सवारी साधन आवत जावत बन्द गर्न निर्देशनसमेत दिएको छ ।