
काठमाडौं । गए रातिदेखि लगातार वर्षा भएपछि काठमाडौंका विभिन्न क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ। विशेषगरी सोल्टी मोडको पश्चिमतर्फ स्युचाटार खोलाले बाटो भासिएको छ भने खोलाको धार घर नजिकै पुगेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानको अवलोकनमा खटिएको र थप क्षति रोक्न महानगर प्रहरी बल तथा विपद् व्यवस्थापन विभागको समन्वयमा तत्काल राहत तथा रोकथाम कार्य अघि बढाइएको महानगरले जनाएको छ।
मनमती किनारमा खोलाको कटान रोक्न अहिले बोरा र ग्राभेल प्रयोग गरी रोकथामको प्रयास भइरहेको महानगरले जानकारी दिएको छ । महानगरका अनुसार अनुसार सो क्षेत्रमा खोलाले केही घरभन्दा करिब पाँच फिट मात्र दूरी छाडेको छ ।
‘आज बिहान करिब ९:०० बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ,’ महानगरले भनेको छ, ‘उक्त सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ ।’
यस्तै, यदि कुनै बस्तीमा डुबान वा बाढीको असर देखिएमा नजिकैको सुरक्षित विद्यालयमा बासस्थान व्यवस्थापन गर्ने तयारी गरिएको छ । महानगरले जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कुनै समस्या वा आपत् परेमा तत्काल सम्पर्क गर्नका लागि महानगरले हेल्पलाइन नम्बरहरू पनि सार्वजनिक गरेको छ । कसैलाई उद्दार आवश्यक परे १६६००१०५५११, ०१५९०१७६४ वा महानगर प्रहरीको नम्बर ०१५९०१७६३ मा सम्पर्क गर्न सकिनेछ ।














प्रतिक्रिया