
एजेन्सी । अफ्रिकी मुलुक ट्युनिसियामा राष्ट्रपतिलाई सामाजिक सञ्जालमा अपमान गरेको र राज्य सुरक्षामाथि आक्रमण गरेको आरोपमा एक व्यक्तिलाई शुक्रवार मृत्युदण्डको सजाय सुनाइएको छ ।
ट्युनिसियामा यस्तो किसिमको सजाय अभूतपूर्व हो । तर, सन् २०२१ मा राष्ट्रपति काइस सईदले शासनसत्तामाथि पूर्ण नियन्त्रण कायम गरेपछि अभिव्यक्ति स्वतन्त्रतामाथि लगाम कस्दै आएका छन् ।
मृत्युदण्डको सजाय सुनाइएका व्यक्ति ५६ वर्षीय श्रमिक सबिर चुचाने भएको बताइएको छ । उनी साक्षर मात्र थिए । पोहोर साल उनले राष्ट्रपतिको आलोचना गर्दै फेसबुकमा पोस्टहरू गरेका थिए ।
फेसबुक पोस्टका लागि उनलाई नबिउल अदालतका न्यायाधीशले मृत्युदण्डको सजाय दिएको चुचानेका वकिल उसामा बुताल्जाले बताए । यस्तो किसिमको सजाय ट्युनिसियाको इतिहासमै अभूतपूर्व भएको बुताल्जाको भनाइ छ ।
यसका विरुद्ध पुनरावेदन गरिएको बुताल्जाले जानकारी दिए ।
ट्युनिसियाका अदालतहरूले यदाकदा मृत्युदण्डको सजाय दिने गरेको भए पनि विगत तीन दशकमा कसैलाई पनि फाँसीमा झुण्ड्याइएको छैन ।
यस सजायका विरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । राष्ट्रपति सईदका आलोचकहरूमा डर उत्पन्न गराउनका लागि यो सजाय सुनाइएको ट्युनिसियाली अभियन्ताहरूको भनाइ छ । यस्तो कठोर सजायले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने र राजनीतिक तनाव बढाउने उनीहरू बताउँछन् ।
सईदले संसद् विघटन गरेर प्रत्यक्ष शासन चलाउन थालेदेखि न्यायिक स्वतन्त्रतामा ह्रास आएको अधिकारकर्मीहरू आरोप लगाउँछन् ।
कू गरेयता सईदले विपक्षी नेताहरूलाई देशद्रोहीको संज्ञा दिँदै कैद गरेका छन् ।








प्रतिक्रिया