प्रधानमन्त्रीदेखि जिल्ला प्रशासन कार्यालयको आग्रह : वर्षाले प्राकृतिकजन्य जोखिम बढ्दैछ, सकेसम्म घरमै बस्नु

280
Shares

काठमाडौं । प्रधानमन्त्रीको स्वकीय सचिवालयसहित विभिन्न सरोकारवाला निकायले सूचना जारी गर्दै सकेसम्म शुक्रबारदेखि आगामी सोमबारसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रधानमन्त्रकिो स्वकीय सचिवालयसहित, वर्षाको कारण अति जोखिममा परेका प्रदेशहरुका जिल्ला प्रशासन कार्यालय, प्रदेशस्थित शसस्त्र प्रहरीको बाहिनी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जल तथा मौसम बिज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायतका निकायले शुक्रबारदेखि आगामी सोमबारसम्म सकेसम्म घरबाट ननिस्कन र सचेत रहन सूचना जारी गरेको छ ।

मौसमी पात्रोलाई मान्ने हो भने ठ्याक्कै आजका दिन नेपालबाट मौसम बाहिरिनुपर्ने हो। सरदर नेपालमा अंग्रेजी पात्रोअनुसार जुन १३ मा मनसुन नेपाल भित्रन्छ र अक्टोबर २ तारिखका दिन बाहिरिन्छ।

तर अक्टोबर २ तारिखका दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ। सक्रिय भएको मनसुनले देशका धेरै ठाउँमा क्षति पुर्‍याउन सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यस वर्ष सरदर मितिभन्दा १५ दिन अगावै (मे २९ अर्थात जेठ १५ गते) नेपालमा मनसुन भित्रिएर पूर्वी नेपालमा सुरुमै क्षति पुर्‍याएको थियो। बाहिरिने समयमा पनि मनसुन थप सक्रिय भएर देशका विभिन्न ठाउँमा क्षति पुर्‍याउन सक्ने पूर्वानुमान गरिएको छ। मनसुन कति दिनपछि बाहिरिने हो पूर्वानुमान भएको छैन।

मौसमबिद्हरुका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भावना छ । यस्ता प्रदेशका कतिपय स्थानमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुने भएकाले प्राकृतिकजन्य जोखिम निम्त्ने सक्ने भन्दै ति निकायहरुले सोमबारसम्म कतै यात्रा नगर्न र सचेत रहन आग्रह गरेको छ ।

पछिल्लो समयमा बङगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा(मनसुनी वायूको) प्रभावका कारण यस्ता प्रदेशहरुमा वर्षा भइरहेको छ । यसबाहेक भारतको ओडिसा राज्यबाट ट्रपिकल साइक्लोनसमेत आजै नेपालमा प्रवेश गर्न लागेकाले यस्ता प्रदेशका विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षा हुने र त्यसबाट बाढि र पहिरो जाने सम्भावना रहेको औल्याइएको छ ।

यो वर्षाका कारण नारायणी, वागमती, कमला, कोशीलगायतका नदी र सहायक नदीमा उल्लेख्य रुपमा पानीको सतह बढ्नुका साथै खतराको तहको आसपास पुग्ने बताइएको छ ।

मनसूनी वर्षाले मधेश प्रदेशको महाभारत र चुरे भएर बग्ने स साना नदीनालामा आकस्मिक खहरे, भेला, बाढी आउन सक्ने सम्भावना छ । काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन तथा कोशीको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेश प्रदेशको बारा, पर्सा, रौतहठ, सर्लाही, सिराहा, सप्तरी, धनुषासहित आसपासका जिल्लामा बग्ने सानादेखि ठूलो नदीनालामा आकस्तिक रुपमा पानीको सतह बढ्ने अनुमान गरिएको छ ।

वर्षाका कारण निम्तन सक्ने जोखिमलाई नियन्त्रणमा लिन प्रधामन्त्री कार्यालयले विपद पूर्व तयारी प्रतिकार्य र उद्धारमा संलग्न हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद व्यवस्थापन समिति, जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन, विभिन्न सुरक्षा निकायलाई तयारी साथ तैनाथी अवस्थामा रहन निर्देशनसमेत दिएको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उपकरणहरुसहित विभिन्न सडक खण्डमा तैनाथी अवस्थामा छन भने सम्भावित जोखिमयुक्त सडक मार्गहरुमा रातिको समयमा अवागमन पूर्ण रुपमा रोक लगाएको छ ।

विभिन्न सुरक्षा निकायले शुक्रबार साँझदेखि जोखिमयुक्त स्थानहरुका खोला किनारमा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्न समेत म्याकिङ गर्दै सूचना प्रवाह गरिरहेका छन् ।

यस्तै ट्राफिक प्रहरीले सकेसम्म सोमबार अति जोखिमयुक्त सडक खण्डमा यात्रा नगर्न र सवारी चालकलाई सचेत रहन म्याकिङ गर्दै सूचना प्रवाह गरिरहेका छन् ।

उता नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गण, बाहिनी र जिल्लास्थित कार्यालयलाई तयारी अवस्थामा राखेको छ ।

उच्च सर्तकता अपनाउनु : प्रधानमन्त्री कार्यालय
मनसूनी वर्षाको यो अवस्थालाई मध्यनजर गरी जोखिमयुक्त स्थानमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयले आग्रह गरेको छ ।

डुबान हुन सक्ने क्षेत्रका बासिन्दालाई अग्लो तथा सुरक्षित स्थानमा सर्नुपर्ने हुँदा त्यसको पूर्व तयारी गर्न, गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं गम्भीर खालका बिरामीलाई सुरक्षित स्थानमा सार्न विशेष तयारी गर्न र आधिकारिक निकायले जारी गरेको सूचना अनुसार मात्रै सुरक्षित स्थानमा यात्रा गर्न प्रधानमन्त्री कार्यालयले आग्रह गरेको हो ।

सात राजमार्गलाई उच्च निगरानीमा
वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने देशभरका अति जोखिमयुक्त ७ सडक खण्डलाई उच्च निगरानीमा राखेको छ ।

जसअनुसार नागढुंगा मुग्लिंग सडक, मुग्लिंग नारायणगढ सडक, बिपी हाईबे, अरनिको हाईबे, गल्छी स्यप्रुबेशी रसुवागढी सडक, त्रिभुबन राजपथ, नारायणगढ बुटवल सडकको दाउन्ने खण्डलाई उच्च निगरानीमा राखेर रातिको समय (बेलुकी ६ बजे देखि बिहान ५ बजे सम्म) मा यात्रा नगर्न सूचना जारी गरेको छ ।

यस्ता सडक खण्डमा बाढी र पहिरो गएर बाटो अवरुद्ध हुने सक्ने भन्दै मन्त्रालयले विभिन्न स्थानमा उपकरणसहित आफ्ना प्राविधिक कर्मचारी पनि तैनाथी अवस्थामा राखेका छन् ।

मन्त्रालयले सडक खण्डहरुमा पहिरो वा बाढी को कारण सडक अबरुद्ध हुँदा सडक बिभागको कन्ट्रोल रुमको टोल फ्री नम्वर ९८५१४१६८९३ का साथै नजिकको सडक कार्यालय वा जिल्ला प्रशासन कार्यालय मा जानकारी उपलब्ध गराउन आग्रह गरेको छ ।