भेनेजुएलाका लागूऔषध तस्करहरू चढेको डुंगामा अमेरिकाले गर्‍यो प्रहार, ४ जनाको मृत्यु

133
Shares

एजेन्सी । अमेरिकी सेनाले लागूऔषध तस्करहरू चढेको भनिएको डुंगामा शुक्रवार प्रहार गर्दा चारजनाको मृत्यु भएको रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

सेप्टेम्बरयता क्यारिबियन समुद्रमा अमेरिकाले यसरी प्रहार गरेको यो चौथो घटना हो । अमेरिकाले आतंकवादी संगठनको दर्जा दिएका लागूऔषध तस्करहरूलाई लक्ष्य बनाइएको ट्रम्प प्रशासनको दाबी छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा आफूले आतंकवादी संगठनसँग आबद्ध लागूऔषध तस्करहरूमाथि घातक प्रहारको निर्देशन दिएको रक्षामन्त्री पिट हेगसेथले सामाजिक सञ्जालमा लेखे ।

यो आक्रमण भेनेजुएलाको तट नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको हेगसेथको भनाइ छ । यसले अमेरिका र भेनेजुएलाबीचको तनाव थप चर्काउने सम्भावना छ ।

अमेरिकी सेनाले आक्रमण गरेमा देशलाई जोगाउनका लागि संकटकाल घोषणाको तयारी गरिरहेको भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बताए ।

गुप्तचर निकायहरूले उक्त डुंगामा लागूऔषध तस्करहरू रहेको पुष्टि गरेपछि आक्रमणको आदेश दिइएको हेगसेथको भनाइ छ । उनीहरूले अमेरिकामा उल्लेख्य मात्रामा लागूऔषध ल्याएर अमेरिकीहरूलाई विष खुवाउन खोजेको आरोप पनि हेगसेथले लगाए ।

यसअघि अमेरिकाले गरेका आक्रमणमा पनि अमेरिकातर्फ आइरहेका लागूऔषधलाई नै तारो बनाइएको ट्रम्प प्रशासनको दाबी छ ।

तर, यस्तो किसिमको आक्रमणको वैधताका विषयमा अमेरिकीहरूले प्रश्न उठाइरहेका छन् ।

तैपनि ट्रम्प प्रशासनले लागूऔषध तस्कर आतंकवादी भएको दाबी गर्दै उनीहरूका विरुद्ध अमेरिकाको लडाइँ जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ ।