सबै बन्दी रिहा गर्न हमासले जनायो सहमति, विपिन जोशी मुक्त हुने आशा जाग्यो

1.3k
Shares

एजेन्सी । प्यालेस्टाइनी लडाकु समूह हमासले तत्कालै सबै बन्दीहरू रिहा गर्न सहमति जनाएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले प्रस्ताव गरेको शान्ति योजनामा सशर्त सहमति जनाउँदै हमासले बन्दीहरू रिहा गर्ने भएको हो ।

मध्यस्थकर्ताहरूमार्फत बन्दी रिहाइको विषयमा विस्तृत कुराकानी गर्ने हमासको भनाइ छ । त्यसका साथै हमासले गाजाको शासनसत्ता सुम्पने सहमति पनि जनाएको छ । प्यालेस्टाइनीहरूको राष्ट्रिय सहमतिका साथै अरबी र इस्लामी सहयोगका साथ स्वतन्त्र प्राविधिक व्यक्तिहरू भएको प्यालेस्टाइनियन अथोरिटीलाई सत्ता हस्तान्तरण गर्न हमासले सहमति जनाएको हो ।
हमासले ट्रम्पको प्रस्तावलाई मध्यस्थकर्ताहरूमार्फत प्रतिक्रिया जनाएको हो ।

यसअघि ट्रम्पले हमासलाई आइतवार साँझसम्ममा प्रतिक्रिया जनाउनका लागि चेतावनी दिएका थिए । हमासले सहमति जनाएपछि उत्साहित भएका ट्रम्पले हमास दीर्घकालीन शान्तिका लागि तयार भएको भनी सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे । उनले इजरायललाई गाजामाथिको बमवर्षा रोक्न र बन्दी रिहाइको वातावरण बनाउन आह्वान पनि गरेका छन् ।

हमासले बन्दी बनाएका विपिन जोशी सहितका ४८ व्यक्तिको तत्काल रिहाइ गर्नुपर्ने र गाजाको शासनसत्ता सुम्पिनुपर्ने ट्रम्पको मागलाई अस्वीकार गरिने आशंका धेरैले गरेका थिए । तर, टर्की र कतारको दबाब परेपछि हमास त्यसमा सहमत भएको बताइएको छ ।

यी दुई शर्तलाई मानेर हमासले युद्धविरामको वातावरण बनाएको बताइएको छ । युद्धविराम सम्झौता हुने टुंगो छैन तर हमासलाई त्यसका लागि विभिन्न मुलुकहरूले दबाब दिइरहेका छन् ।

ट्रम्पले प्रस्ताव गरेका अन्य शर्तमा हमासले प्रतिक्रिया जनाएको छैन । पूरै निःशस्त्र हुनुपर्ने ट्रम्पको प्रस्तावलाई हमासले अस्वीकार गर्दै आएको छ । गाजाको शासन चलाउनका लागि ट्रम्पको नेतृत्वमा बनाइने बोर्ड अफ पिसका विषयमा पनि हमासले कुनै प्रतिक्रिया दिएको छैन ।

अमेरिकी प्रस्तावमा उल्लिखित अन्य विषयलाई भविष्यमा छलफल गरिने हमासको भनाइ छ । विस्तृत राष्ट्रिय प्यालेस्टाइनी फ्रेमवर्क बनाउनका लागि योगदान गर्ने र त्यसमा आफू पनि सहभागी हुने हमासको भनाइ छ ।

हमासले यसो भनेर ट्रम्पको प्रस्तावलाई चुनौती दिएको छ । ट्रम्पले गाजामा हमास वा अन्य कुनै पनि लडाकु समूहले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शासन चलाउन नपाउने अडान राखेका छन् ।

बन्दी रिहा गर्नका लागि हमासले जनाएको सहमतिले विपिन जोशी पनि नियन्त्रणमुक्त हुने आशा जगाएको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी भागमा आक्रमण गरी १२ सयको हत्या गरी २५० जनालाई बन्दी बनाएको थियो । बन्दी बनाइएकामध्ये नेपालमा विपिन जोशी पनि थिए । उनको रिहाइको माग गर्दै विपिनका आमा र बहिनीले इजरायल र अमेरिकासम्म पुगेर शीर्ष नेतृत्वसँग भेटघाट गरेका छन् ।