
एजेन्सी । भारतीय वायुसेनाका प्रमुख एपी सिंहले अपरेशन सिन्दूरको दुर्लभ तथा विस्तृत विवरण उपलब्ध गराएका छन् ।
उनले यसलाई वर्षभरिकै सबभन्दा ठूलो उपलब्धिका रूपमा वर्णन गर्दै पाकिस्तान सीमाभन्दा ३०० किलोमिटर भित्र निशानामा सटीक प्रहार गरिएको जानकारी दिए ।
९३औं एयर फोर्स डेको समारोहमा वायुसेना प्रमुख चीफ मार्शल सिंहले यसको जानकारी दिएका हुन् ।
जम्मु कश्मीरमा पाकिस्तानसमर्थित आतंकवादीहरूले निर्दोष व्यक्तिहरूको हत्या गरेपछि भारतीय वायुसेनाले स्पष्ट कार्यादेशका साथ कारवाही चलाएको उनले बताए ।
निर्दोषको हत्या गरेकोमा बदला लिने क्रममा पाकिस्तानीहरूले मूल्य चुकाउनैपर्ने निर्णय आफूहरूले लिएको उनको भनाइ छ । प्रतिशोधात्मक कारवाहीमा भारतीय वायुसेना अग्रपंक्तिमा रहेको उनले बताए ।
भारतीय वायुसेनाले पाकिस्तानका अनेकौं एयरबेस र त्यससँग जोडिएका पूर्वाधारमा प्रहार गरेको पनि उनले जानकारी दिए । कम्तीमा चारवटा रेडार साइट, दुईवटा कमान्ड एन्ड कन्ट्रोल सेन्टर, दुईवटा धावनमार्ग र तीनवटा एयरक्राफ्ट ह्यांगरहरूमा प्रहार गरे। विशाल क्षति गराएको सिंहको भनाइ छ ।
त्यसक्रममा एक विशाल सी–१३० क्लास गुप्तचर विमानका साथै चारदेखि पाँचवटा लडाकु विमानहरू (शायद एफ–१६) ध्वस्त भएको उनले बताए ।
जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीलाई पनि आफूहरूले नष्ट गरिदिएको उनको दाबी छ ।
धेरै विवरण नदिइकन सिंहले अपरेशन सिन्दूरका क्रममा नौमध्ये दुईवटा आतंकवादी शिविरमा भारतीय वायुसेनाले सिधै प्रहार गरेको बताए ।
तीन सय किलोमिटर टाढाको लक्ष्यमा सटीक प्रहार गर्नु भारतीय वायुसेनाको इतिहासको सबभन्दा ठूलो उपलब्धि भएको सिंहको भनाइ छ ।
यी आक्रमणहरूले गर्दा पाकिस्तानले त्राहित्राहि भएर युद्धविरामको भिक्षा मागेको पनि सिंहले दाबी गरे । अपरेशन सिन्दूरले पाकिस्तानलाई रणनीतिक र मनोवैज्ञानिक झड्का दिएको उनको भनाइ छ ।
गत मे महिनाको ७ देखि १० तारिखसम्म भारत र पाकिस्तानबीच भएको लडाइँलाई भारतले अपरेशन सिन्दूर नाम दिएको छ ।








प्रतिक्रिया