बजेटका विषयमा सांसदहरूमा सहमति नजुटेपछि अमेरिकामा सरकारी कामकाज ठप्प

287
Shares


एजेन्सी । अमेरिकी सांसदहरूले बजेटका विषयमा सहमति जुटाउन नसक्दा बुधवारबाट सरकारी कामकाज ठप्प भएको छ ।
६ वर्षमा पहिलोपटक यस्तो किसिमको शटडाउन भएको हो ।

रिपब्लिकन र डेमोक्रेटिक पार्टीका नेताहरूले यो स्थिति आउनुमा एकअर्कालाई दोष दिइरहेका छन् । विद्यमान बजेट अर्को सात हप्ताका लागि विस्तार गर्न डेमोक्रेटहरूले सहमति जनाउनुपर्ने रिपब्लिकनहरूको भनाइ छ । तर, आफूहरूले प्रस्ताव गरेका स्वास्थ्य सेवा तथा सरकारी खर्च सम्बन्धी संशोधनलाई समावेश नगरिकन बजेट पास गर्न नदिने अड्डी डेमोक्रेटहरूले गरेका छन् ।

रिपब्लिकनहरू चाहिँ बजेटले सबै कुरा समावेश गरिसकेकाले थप चलखेल गर्न नहुने बताइरहेका छन् ।

यो शटडाउन कति समयसम्म कायम रहन्छ भन्ने विषयमा अनिश्चितताको स्थिति छ । रिपब्लिकन पार्टीले बजेट पारित नहुन्जेल मतदान प्रक्रियामा लगिरहने जनाएको छ ।

सिनेटमा बजेट पारित गर्नका लागि ६० भोट आवश्यक हुन्छ । मंगलवार राति भएको मतदानमा बजेटको पक्षमा ५५ भोट परेको थियो ।

संघीय सरकारको कामकाज ठप्प हुँदा हजारौं कर्मचारीहरूलाई छुट्टीमा पठाइएको छ । अत्यावश्यक सेवाका कर्मचारीहरूलाई चाहिँ कार्यालय आउन भनिएको छ । तर, बजेट पारित नहुन्जेल ती कर्मचारीले तलब पाउने छैनन् ।

जीवन तथा धनसम्पत्तिको संरक्षण गर्ने महत्त्वपूर्ण सरकारी काम बन्द हुने छैनन् । विगतमा शटडाउन हुँदा आप्रवासी सम्बन्धी सुनुवाइ र साना व्यापारलाई सरकारले दिने ऋणहरू बन्द भएका थिए ।