
एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले देशभरि इन्टरनेट र मोबाइल फोन सेवामा प्रतिबन्ध लगाएको छ ।
विभिन्न प्रान्तमा फाइबर अप्टिक इन्टरनेट कनेक्शन काटेको केही सातापछि अहिले आएर तालिबानले देशभरि नै इन्टरनेटमा प्रतिबन्ध लगाएको हो ।
इन्टरनेटको वाचडग संस्था नेटब्लक्सका अनुसार, अहिले अफगानिस्तानमा इन्टरनेट ब्ल्याकआउटको स्थिति छ ।
सन् २०२१ मा तालिबानले पुनः सत्ताकब्जा गरेपछि अहिले आएर टेलिकम सेवामा बृहत् प्रतिबन्ध लगाएको हो । सन् २००१ अघि तालिबानले शासन चलाउँदा लगाएका कठोर प्रतिबन्धहरूकै सिलसिलालाई दोहोर्याउन खोजेको देखिन्छ । त्यतिखेर तालिबानले टेलिभिजन, स्याटलाइट डिश अन्य सबै आमसञ्चारका माध्यममा प्रतिबन्ध लगाएको थियो ।
पापविरुद्धको अभियानका रूपमा यो प्रतिबन्ध लगाइएको तालिबानको भनाइ छ । इन्टरनेटमा के पापी कुरा छ भनी तालिबानले खुलाएको छैन ।
तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाको आदेशमा यो प्रतिबन्ध लगाइएको हो ।
सोमवार रातिदेखि नै देशका विभिन्न भागमा मोबाइल फोनको सिग्नल र इन्टरनेट पहुँच कमजोर हुन थालेको थियो । पछि त्यो पूरै घटेर जम्मा १ प्रतिशतले इन्टरनेट र मोबाइल चलाउन थालेको नेटब्लक्सले जनाएको छ ।
कठोर इस्लामिक कानून लागू गर्दै तालिबानले इन्टरनेट काटेको हो । तर, यसले अफगानीहरूलाई दैनिक जीवन र व्यापार चलाउन गाह्रो परेको छ । पसलेहरूले इन्टरनेट र फोनबाट व्यापार भइरहेकाले त्यो हटाउँदा बजार ठप्प भएको बताएका छन्
सन् २०२४ को जुन महिनामा मात्र तालिबानले फाइबर अप्टिक प्रोजेक्टलाई प्राथमिकताको क्षेत्रका रूपमा व्याख्या गरेको थियो ।
९ हजार ३ सय ५० किलोमिटर लामो नेटवर्क तालिबानअघिका पश्चिमसमर्थित सरकारहरूले बनाएका थिए । त्यसले अफगानिस्तानलाई बाहिरी विश्वसँग जोड्ने र आर्थिक पुनरुत्थानलाई सहयोग गर्ने बताइएको थियो ।
अत्यावश्यक सेवाका लागि वैकल्पिक व्यवस्था गरिने बल्ख प्रान्तका गभर्नर हाजी जैदले बताएका छन् । तर, त्यस व्यवस्थाले केके समेट्छ र त्यसले कसरी काम गर्छ भन्ने कुरा उनले खुलाएनन् ।








प्रतिक्रिया